हुलाकी सडक नबन्दा जिल्लावासी मार्कामा

इनेप्लिज २०७२ पुष १८ गते ३:४२ मा प्रकाशित

गौशाला, १८ पुस । महोत्तरी जिल्लाको ५२ किलोमिटर हुलाकी सडक नबन्दा जिल्लावासी मार्कामा परेका छन् ।

जिल्लाको सदरमुकाम जलेश्वरदेखि मनरा, सम्सी हुँदै सर्लाही जिल्लाको सिमानासँग जोडिएको हर्दी नदीसम्म २६ किलोमिटर र सम्सीबाट गौशाला, रामनगर हुँदै माईस्थान गाविसअन्तर्गत पूर्व पश्चिम राजमार्गलाई छुने २६ किलोमिटर गरी ५२ किलोमिटर हुलाकी सडक वर्षौंदेखि निर्माण हुन नसक्दा महोत्तरीवासी हरेक दृष्टिकोणले प्रभावित भएका छन् ।

यस सडकलाई निर्माण गर्न सन् २०११ को जुलाईमा भारतको हैदरावादस्थित भिश्वा जेभी÷बिबिएसआर ठेकेदार कम्पनीले भारत सरकारसँग आउँदा ३० महिनाभित्र सडक बनाउने सम्झौता गरेकामा सो कम्पनीको सम्झौता अवधि सन् २०१३ नोभेम्बर १२ मा सकिसक्दा पनि कम्पनीले हुलाकी सडक निर्माण गर्न सकेको छैन ।

तीन वर्षअघि नै महोत्तरीको ५२ किलोमिटर हुलाकी सडकअन्तर्गत पर्ने नम्बरी जग्गावालालाई मुआब्जा वितरण, सडकभित्रका बिजुली तथा टेलिकमका पोल हटाउने तथा रुख कटान जस्ता सबै काम गरिसकिएर पनि ठेकेदार कम्पनी नै भागेपछि हुलाकी सडक अलपत्र परेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताउनुभयो ।

सडक बनाउने समयावधि सकिएको र ठेकेदार कम्पनी सडक नबनाइकनै फरार भएपछि महोत्तरीको उद्योग, कलकारखाना र व्यापार व्यवसायमा ठूलो कुठाराघात भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले बताउनुभयो ।

वर्षौंदेखि राम्रो र भरपर्दो हुलाकी सडक निर्माण हुने आशामा रहेका महोत्तरीवासीले सडक अभावमा जिल्लाका आर्थिक, कृषि, उद्योग व्यवसाय, कलकारखाना, शिक्षा, स्वास्थ्यजस्ता प्रत्येक क्षेत्र निक्कै पछाडि परेको धारणा राख्दै जिल्लाको सर्वपक्षीय एवम् चौतर्फी विकासका लागि महोत्तरीको ५२ किलोमिटर हुलाकी सडक अविलम्ब निर्माण गर्न गराउन सरकारसँग माग गरेका छन् ।

साथै जिल्लावासीले वर्षौंदेखि जीर्ण यस सडकखण्डको निर्माण गर्न नसकिए पनि समय समयमा मर्मत सम्भार गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया