संविधान संशोधनसँगै तराई समस्या समाधानः गृहमन्त्री

इनेप्लिज २०७२ पुष १६ गते १३:३६ मा प्रकाशित

Shakti-Basnetजाजरकोट, १६ पुस । संविधान संशोधनसँगै तराईको समस्या समाधान हुने गृहमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभएको छ ।

सरकारले व्यवस्थापिका संसदमा पेस गरेको संविधान संशोधन विधेयक पारित भएसँगै तराईमा तीन महिनादेखि भइरहेको आन्दोलन समाप्त भई जनजीवन सामान्य हुने गृहमन्त्री बस्नेतले दाबी गर्नुभयो ।

साथै, संविधान संशोधनसँगै आपूर्ति व्यवस्था सहज हुने र सीमाङ्कनको विषयमा भने तीन महिनाभित्र सर्वदलिय सहमतिको आधारमा हेरफेर गर्न सकिने गृहमन्त्री बस्नेतले वताउनुभयो । तर कसैको दबाबमा भने हेरफेर हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

संविधानको प्रचारका लागि गृह जिल्ला जाजरकोट आइपुग्नु भएका मन्त्री बस्नेतसँग क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आपसी सहमति र सहकार्यमा देशको वर्तमान समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

भूकम्पपीडितलाई समयमै राहत वितरण गर्न सरकारले प्रति घरधुरी रु १० हजारका दरले न्यानो कपडा किन्नका लागि गाविसको खातामा पैसा पठाइसकेको भएपनि गाविस सचिव नहुँदा वितरणमा समस्या भएको उहाँले बताउनुभयो । उहाँले सामान्य प्रशासन मन्त्रालयको तालिममा रहेका डेढसय अधिकृतलाई तत्काल राहत वितरणमा खटाउने पनि जानकारी दिनुभयो ।

भूकम्पपीडितको समस्याप्रति सरकार अत्यन्त संवेदनशील रहेको बताउँदै उनीहरुको जीवनरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । देश अत्यन्त कठिन मोडमा रहेको सन्दर्भमा कुनै पनि बहानामा कालोबजारी गर्नेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले जाजरकोटका कार्यालय प्रमुखलाई जनताको काममा ढिलासुस्ती नगर्न र विकास निर्माणलाई तदारुकताकासाथ अघि बढाउन निर्देशन पनि दिनुभयो ।

प्रतिक्रिया