शनिबार, साउन १६ २०७८
काठमाडौं ०२:५०
वासिङटन डिसी 17:05

जलेका मनहरु

इनेप्लिज २०७२ पुष १५ गते ११:३७ मा प्रकाशित

guna raj luitel

 

 

 

 

 

 

 

 

 

असल
सवल
सग्लो
खोट नलागेको
रीत पुगेको
र सिंगो वस्तुको खोजी
गर्दा गर्दै
अनि यस्तो सवगुणसम्पन्न,
स्वप्नील इच्छाको बस्तुलाई
गौरवताका साथ
घमण्ड गर्दै
संसारको बजारमा
हुंकारका साथ
पुर्याएको सपना
भर्खरै देखेको थिएं ।

सपनालाई म रोक्न सक्दिन
निन्द्राले जव आंखाहरु
लपक्क हुन थाल्दछन्
जव शरीर ललाक्लुलुक् हुन थाल्दछ
म हर प्रयास गर्छु
र दिमागलाई अनुरोध गर्दछु—
कृपया तिमी सपना नदेखिदेउ
हरेक दिनको यो मेरो प्रार्थना
हरेक दिन पराजित हुन्छ
जतिपल्ट म सपना नदेख्ने
प्रार्थना गर्दछु
त्यतिनै पटक
मेरो दिमागले सपना देखिदिन्छ
मैले धेरै पल्ट हार खाइसकेको छु
सपनाहरुलाई रोक्न नसकेर
आजित भएको छु
दिमागसंग लाप्पा खेलिरहेछु
गर्ने हर प्रयास गरिरहेछु ।

ओ हो कति मज्जा,
आज त मेरो दिमाग
पूरै आज्ञाकारी भएको छ
मैले जे भन्यो त्यही मानिरहेको छ
यसले कति ठूलो
गुण लगाएको छ
त्यो म ब्याख्या पनि गर्न सक्दिन
अवदेखि यसले सपनाहरु देख्न
छोडिदिएको छ
ऊ स्याबासीको पात्र भएकोछ,
उसले मलाई उडन्ते संसारबाट
वास्तविकताको संसारमा पुर्याइदिएको छ
मेरा आंखाहरु
अव लल्याकलुलुक हुन छोडेका छन्
कठोर बनेर हेर्न मात्र थालेका छन् ।

मेरा आंखाले जे देखिरहेका छन्
त्यो पक्कै पनि विपना हुनुपर्दछ
आज मैले जे देखिरहेको छु
त्यो असल छैन
त्यो सबल छैन
त्यो सग्लो छैन
त्यो खोटपूर्ण छ
त्यो वेरीतको छ
त्यो सिंगो छैन
त्यो सवगुण सम्पन्न छैन
अनि त्यो स्वप्नीलतुल्य छैन ।

जे देखिरहेको छु
त्यो वस्तु आकारशुन्य छ
त्यो जलेका मनहरुले बनाइएको छ
त्यो चीता खरानीबाट कुंदिएको छ
भीमकाय कम्पनपछि
खल्र्याम्खुर्लुम्म पारिएका
भग्नावशेष बटुलेर टालिएको छ
चरम बर्बरताबाट उत्पादित
नरकंकाल जोडेर बनाइएको छ
उदासीन समयले सजाइएको छ
चित्कार गरिरहेका आत्माहरु
निचोरेर बनाइएको छ
देखावटी सम्पन्नताको जलप लगाइएको छ ।

त्यही आकारशुन्य बस्तुलाई लिएर
म संसार डुल्न बाध्य छु
तिनै जलेका मनहरुलाई
निहाल्न विवश छु
त्यही चीता खरानी
लगाउन बाध्य छु
भग्नावशेषलाई गौरव ठानिरहेको छु
वर्बरतालाई शिरोधार्य गरिरहेछु
नरकंकाल रुप अरुलाई देखाइरहेछु
उदासीनतालाई नियति मानिरहेछु
चित्कार र क्रन्दनलाई शासमै दबाइरहेछु
अनि
सम्पन्नताको आडम्बर कुर्लिंदै
जलेका मनहरुलाई
ब्रम्हाण्ड भरी बिच्छ्याइरहेछु ।।

प्रतिक्रिया