लिम्बूले यसरी पाए ‘बीएण्डसी’मा नयाँ जीवन

इनेप्लिज २०७२ पुष ९ गते १४:१६ मा प्रकाशित

IMG_20151222_162458बिर्तामोड, ९ पुस ।  फुटबल खेल्ने क्रममा ताप्लेजुङका श्याम लिम्बूको खुट्टाको बुढी औँलामा सामान्य चोट लाग्यो ।  घटना अघिल्लो महिना (मङ्सिर)को हो । २४ वर्षका यी युवाले औँलामा भएको घाउमा टिटानसको सुइ लगाएनन् । बरु घरायसी दबाई लगाउन थाले । तर, एक हप्ता नपुग्दै उनको घाउ पाक्न थाल्यो । उनलाई खतरनाक रोग टिटानसले आक्रमण गर्यो ।

उपचारका लागि उनलाई ताप्लेजुङकै एक अस्पताल पुर्याइयो । तर, त्यहाँको अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिदियो । लिम्बूको अवस्था यति नाजुक भइसकेको थियो कि उनलाई घोपाले पनि ‘उपचार सम्भव छैन’ भन्दै घर फर्काइदियो । निराश भएर आफन्तले उनलाई घर फर्काउँदै थिए । बिर्तामोड आइपुगेपछि आफन्तले उनलाई बीएण्डसी टिचिङ हस्पिटलमा देखाउन मन गरे । फलस्वरुप लिम्बूले आज नयाँ जीवन पाएका छन् ।

‘मेरो मुख बाँधिएको थियो । आँ गर्नै सक्दिनँ थिएँ,’ उनी भन्छन्, ‘टाउको पनि पछाडि गएर शरीर धनुषजस्तै भइसकेको थियो ।’ बी एण्ड सीमा डा. दिवश खड्का, डा. सोनिया प्रशन्न थापा र डा. राजु श्रेष्ठको टोलीले उनको उपचार गरेको हो । अहिले उनी बोल्न, बेडबाट उठेर बस्न सक्ने भएका छन् । हस्पिटलले उनलाई चाँडै डिस्चार्ज गर्दैछ ।

उपचारका क्रममा लिम्बूलाई दुई हप्ताभन्दा बढी भेन्टिलेटरमा राखिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । ‘त्यस्तो जटिल केस निको पार्न सक्यौँ,’ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई भन्छन्, ‘हाम्रो लागि यो गर्वको कुरा हो ।’ हस्पिटलका मेडिकल डाइरेक्टर डा. उमेशकुमार शर्मा र प्रिन्सिपल डा. अमरनाथ ठाकुरले लिम्बूको ज्यान बचाउन सफल भएकोमा आफूहरु हर्षित भएको बताए ।

शरीरमा चोटपटक लागे चिकित्सकको सल्लाह अनुसार टिटानसको सुई लगाउनुपर्ने डाक्टरहरुको सुझाव छ । बच्चालाई त झन् बढी ध्यान दिनुपर्ने उनीहरु बताउँछन् । ‘टिटानस लाग्नै नदिनका लागि घाउ हुनेबित्तिकै सुई लगाउनुपर्छ,’ लिम्बूको उपचारमा सम्लग्न डा. खड्का भन्छन्, ‘टिटानस लागिसकेपछि ५० प्रतिशतको ज्यान जाने गरेको छ ।’

प्रतिक्रिया