जुम्ला, ८ पुस । राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङदेनले जुम्लालाई नेपालको युरोप बनाउन सकिने बताउनुभएको छ ।
जुम्लाका पत्रकारसँगको भेटघाट कार्यक्रममा महामन्त्री लिङदेनले जुम्लामा यो सम्भावना रहेको बताउनुभयो । उहाँले यो देशमा वादले भन्दा भ्रष्टाचारले समस्या ल्याएको जनाउँदै परम्परागत बजेटबाट कर्णालीको विकास हुन नसक्ने दाबी गर्नुभयो ।
कर्णालीको विकास र समृद्धिका लागि एकीकृत विकासमा जोड दिन आफ्नो पहल रहने विश्वास दिलाउनुभयो ।
सरकारले अछुत व्यवहार गरेको राप्रपा नेपाल पार्टी आज सरकारमा गएर नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गर्नुका साथै सनातन हिन्दूधर्मको मुद्दा कायमै रहेको र २०६२/६३ को जनआन्दोलनपश्चात् नेपालमा गणतन्त्र र धर्म निरपेक्षता लादिएको उहाँको टिप्पणी थियो ।
लोकतन्त्र र राजतन्त्र एक अर्काको पर्याय नभएको औँल्याउँदै उहाँले अबको राजसंस्था परम्परागत नभई सबै पार्टीको सम्झौताको राजसंस्था हुने तर्क गर्नुभयो ।
राप्रपा नेपालका केन्द्रीय सदस्य तथा सङ्घीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराज विष्टले कर्णालीका लागि आफूले धेरै महत्वाकांक्षी योजना नबनाएको बताउनुभयो ।
सहायक मन्त्री विष्टले आफूले जुम्लाको २५० किलोवाट साना जलविद्युत्का लागि सम्पूर्ण प्राथमिकता दिएको जनाउनुभयो ।
महामन्त्री लिङ्गदेन र स्थानीय विकास सहायकमन्त्री बिष्टले गत पौष ४ गते आगलागीबाट ध्वस्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अवलोकन तथा बिरामीको अवस्थाबारे जानकारी लिनुभयो ।
प्रतिक्रिया