सहज बन्दै बालबालिकाको पढाइ

इनेप्लिज २०७२ पुष ८ गते ३:१२ मा प्रकाशित

रामेछाप, ८ पुस । भूकम्पको र त्यसको नियमित पराकम्पनबाट हैरान भएका बालबालिकाको पढाइ पछिल्लो समयमा आएर सहज बन्दै गएको छ ।

घरमा अभिभावकबाट पाउने माया र विद्यालयमा पढाइसँगै चल्ने गरेको मनोरञ्जनात्मक वातावरणका कारण बालबालिकाले क्रमशः भूकम्प भुल्दै गएकाले बालबालिकाको पढाइ सहज बन्दै गएको हो । पछिल्लो समयमा गाउँगाउँमा पुगेका विभिन्न गैरसरकारी संस्थाले विद्यालयमा समयसमयमा गरेको छलफल, अन्तरक्रिया र मनोपरामर्श तालिमसँगै विद्यालयले सञ्चालन गरेको खेलकुद गतिविधि र पढाइका कारण बालबालिकाको अवस्था सहज बन्दै गएको हो । यस किसिमको वातावरणले बालबालिकामा त्रास निकै घटेको उमावि खिम्तीका प्राचार्य पवनराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयका शिक्षकको व्यवहार र मनोरञ्जनका साथै साथीहरुसँगको घुलमिलका कारण उनीहरुमा भूकम्पको त्रास हटेर अहिले गाउँ तथा बजार क्षेत्रमा बसोबास गर्ने सबैजसो बालबालिकाका नियमित विद्यालय जान थालेका छन् । डेढ महिनासम्मको कम्पनका कारण तर्सिएका बालबालिका र भत्किएका विद्यालयको भवन अनि आफँै बसेको घर भत्किएपछि बालबालिकाको पठनपाठन पूर्ण रुपमा प्रभावित भएको थियो । जसका कारण सरकारले समेत भूकम्प प्रभावित सबै जिल्लाका विद्यालय विधिवत् रुपमा जेठ १६ गतेसम्मका लागि बन्द गरिएको थियो ।

विद्यालय खुलेको लामो समयसम्म पनि बालबालिकामा परेको मनोवैज्ञानिक त्रास हटाएर उनीहरुलाई सहज वातावरण बनाउन अभिभावक र शिक्षकले पनि निक्कै मिहेनत गरेका थिए । जसले गर्दा बालबालिकाको पढाइमा सहज वतावरण बन्दै गएको कर्कलादेवी बोर्डिड स्कुलका प्राचार्य केशव अमोल तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केही दिनसम्म नियमित मनोरञ्जनसँगै भूकम्पका बारेमा धेरै कुराको समीक्षा र छलफल ग¥यो । छलफलसँगै बालबालिकाबाट उठेको जिज्ञासा शान्त पार्दै जाँदा उनीहरुमा उठेको त्रास हट्दै गयो । जसका कारण अहिले विद्यालयमा पठनपाठनको वातावरण सहज हुँदै गएको हो ।”

तामाकोसी र कर्कलादेवीमा मात्र हैन ग्रामीण क्षेत्रका विद्यालय पनि अहिले नियमित रुपमा सञ्चालन हुन थालेका छन् । भूकम्पको सबैभन्दा बढी असर बालबालिकामा परेको कारण त्यसलाई सहज बनाउन गाउँका अभिभावक र शिक्षकसमेत निरन्तर रुपमा आ–आफ्नो ठाउँबाट क्रियाशील भएकै कारण बालबालिका सजिलै विद्यालय जाने वातावरण सिर्जना भएको भीमेश्वर प्रावि ल्याङल्याङका प्राचार्य चन्द्रबहादुर श्रेष्ठको भनाइ छ ।

जिल्ला शिक्षा अधिकारी खुवीराम अधिकारीले जिल्लाका अधिकांश विद्यालयका भवन भत्किएकाले त्रिपालमुनि बसेर पढाउनु पर्दाको अवस्थालाई शिक्षकले सहज बनाएर पढ्नका लागि राम्रो वातावरण निर्माण गरिदिएकाले अहिले बालबालिका निर्बाध ढङ्गले विद्यालय जान थालेको बताउनुभयो ।

प्रतिक्रिया