इटहरीमा रक्तदान–३३ पिन्ट रगत सङ्कलन

इनेप्लिज २०७२ पुष ८ गते ३:१२ मा प्रकाशित

raktadaanइटहरी, ८ पुस । नियमित रक्तदान गर्दै आएका बाबुराम प्रधानले मङ्गलबार १०१औँ पटक रक्तदान गरेर इटहरीको रक्तदाताको माझमा रेकर्ड बनाउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाद्वारा इटहरीमा आयोजित रक्तदान कार्यक्रममा प्रधानले सो रेकर्ड बनाउनुभएको उपशाखाका अध्यक्ष बिकल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रक्तसञ्चार विभागमा केही दिनदेखि रगत अभावका कारण बिरामीको उपचारमा समस्या आएपछि नेपाल रेडक्रस सोसाइटी सुनसरीले सार्वजनिक रुपमा नै रक्तदान गर्न आह्वान गरेको हो ।

सोही क्रममा इटहरी उपशाखाले आयोजना गरेको रक्तदानमा ३३ पिन्ट रगत सङ्कलन भएको छ । चिसो बढ्न थालेपछि रगतको अभाव भएको सुनसरीको धरानस्थित रक्तसञ्चार केन्द्रका प्राविधिक सानुकाजी थापाले बताउनुभयो । उहाँले अहिले रक्तसञ्चार शाखामा केही रगत समूहको अभाव भएका कारण बिरामी आफैँले रगतको व्यवस्थाका लागि आफन्त लिएर आउन पर्ने अवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया