संविधानप्रति रचनात्मक सोच जरुरी: प्रधान न्यायाधीश श्रेष्ठ

इनेप्लिज २०७२ पुष ७ गते १५:०५ मा प्रकाशित

kalyan-Shresthaभद्रपुर, ७ पुस । प्रधान न्यायाधीश कल्याण श्रेष्ठले वर्तमान संविधानप्रति रचनात्मक सोच र विचारको विकास हुनुपर्ने बताउनुभएको छ ।

नेपाल वार एसोसिएसन झापा शाखा स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा जिल्ला अदालत झापाको परिसरमा आज आयोजित बार स्वर्ण महोत्सव वर्ष–२०७२ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको न्याय पद्धतिमा गरिब र शोषित जनताको पहुँच बढाउनसकेमा मात्र देश व्यवस्थित हुने भन्दै न्यायका लागि जनताले सर्वसुलभ तरिकाले लाभ लिन कानुन व्यवसायीको भूमिका अग्रणी रहेको उल्लेख गर्नुभयो ।

नेपाली अखण्ड मन र भौगोलिकतालाई जोगाउन संविधानका विशेषताहरू र अधिकारका बारेमा जनतालाई बुझाउनु अहिलेको आवश्यकता हो भन्दै प्रधान न्यायाधीश श्रेष्ठले संविधानमाथिको राजनीति हट्नुुपर्ने सुझाव दिनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्नु हामी सबैको दायित्व भएको बताउँदै सङ्घीयतासहितको संविधानले देशको सबै क्षेत्रका जनताको अधिकारलाई स्थापित गराउनेमा जोड दिनुभयो ।

उहाँले संविधानको बिषयमा अहिले कृत्रिम विवाद सृजना भएकाले वार्ताबाट नै समस्या समाधान हुने कुरामा आफू विश्वस्त रहेको भन्दै मुलुकलाई आत्मनिर्भरतातर्फ लैजान वैदेशिक सम्बन्ध र नाका विस्तार गर्न सरकार लागिपरेको जानकारी दिनुभयो ।

पूर्व सभामुख सुवास नेम्वाङले संविधान निर्माण गरेर २००७ साल देखिको नेपाली जनताको चाहना पूरा भएको भन्दै मधेसवादी दलले नागरिकताको सम्बन्धमा उठाएको विवादका सम्बन्धमा संविधान जारी भएपछि देशभरमा ५९६ जनाले वैवाहिक नाताले अङ्गिकृत नागरिकता पाएको प्रष्ट पार्नुभयो ।

उहाँले सामथ्र्य र पहिचानको आधारमा सङ्घीयता बनेकाले कसैले पनि संविधानमा शङ्का गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

भारतको संविधान अहिलेसम्म १२२ पटक संशोधन भएको चर्चा गर्दै उहाँले नेपालको संविधानलाई पनि संशोधन गर्दै जनताको हक र अधिकारलाई स्थापित गराउंदै लैजान सकिनेमा जोड दिनुभयो ।

महान्यायाधिवक्ता हरिकृष्ण कार्कीले न्यायालयको सुदृढीकरणमा अमूल्य योगदान दिने कानुन व्यवसायी पेसालाई मर्यादित बनाउनेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा प्रधान न्यायाधीश श्रेष्ठले बार स्वर्णमहोत्सव वर्ष स्तम्भको अनावरण गर्नुका साथै बारको स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा आमरुपमा संस्मरणात्मक लेखहरूलाई समेटी प्रकाशित भएको स्मारिकाको लोकार्पण पनि गर्नुभयो ।

प्रतिक्रिया