पिपिसीले ट्रान्सफर्मर जडान गरिदिने भएपछि आन्दोलन फिर्ता

इनेप्लिज २०७२ पुष ७ गते ४:३३ मा प्रकाशित

पाँचथर, ७ पुस । पाँचथर पावर कम्पनीले विद्युतीकरणका लागि ट्रान्सफर्मर जडान गरिदिने भएपछि स्थानीयवासीले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

सम्झौता तोडेर कम्पनी अघि बढेको भन्दै असन्तुष्ट याङ्नाम–१ चिलिङ्देनका स्थानीयवासीले कम्पनीको काममा अवरोधसँगै प्रदर्शन गर्नेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

तर कम्पनी, नेपाल विद्युत् प्राधिकरण र स्थानीयबीच त्रिपक्षीय वार्तापछि ट्रान्सफर्मर जडान गर्न कम्पनी सहमत हुँदा आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । स्थानीयवासी पनि ट्रान्सफर्मर खरिदका लागि रु २० हजार बेहोर्न सहमत भएका छन् ।

त्रिपक्षीय वार्ताका लागि समन्वयकारी भूमिका निर्वाह गरेका याङ्नाम गाविसका सामाजिक परिचालक विनय रम्तेलका अनुसार विद्युतीकरण चाँडै गर्ने र बत्ती जडान गर्नुभन्दा अघि छ महिनाको विद्युत् महसुलबापतको रु एक लाख ५० हजार पनि विद्युत् प्राधिकरणलाई बुझाउन स्थानीयवासी राजी भएका छन् ।

पाँचथरको याङ्नाम, नांगिन र भारपाको सीमा हुँदै बग्ने हेवाँखोलाबाट निर्माणाधीन पाँचथर पावर कम्पनीले १४ दशमलव ५ मेगावाट विद्युत् उत्पादनका लागि धमाधम काम गरिरहेको छ ।

प्रतिक्रिया