राजदुत डा. अर्जुन कुमार कार्की द्वारा निकारागुवाका राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र पेश 

इनेप्लिज २०७२ पुष ७ गते १:३८ मा प्रकाशित
 ohada
निकारागुवाका लागि सहप्रमाणीकरण हुनु भएका संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत महामहिम डा. अर्जुन कुमार कार्कीले गत १८ डिसेम्बर २०१५ का दिन निकारागुवाका राष्ट्रपति महामहिम डेनियल ओर्टेगा साभेद्रा समक्ष मानागुवास्थित राष्ट्रपति भवनमा आयोजित समारोहका वीच आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो ।
 
उक्त अवसरमा राजदूत डा. कार्कीले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले महामहिम राष्ट्रपतिको व्यक्तिगत सुख एवं स्वास्थ्यका साथै निकारागुवाका जनताको निरन्तर प्रगति एवं सम्मृद्धिका लागि पठाउनु भएको शुभकामना सन्देश सुनाउनु भयो । यसैगरी राजदूत डा. कार्कीले सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले महामहिम राष्ट्रपति ओर्टेगालाई पठाउनु भएको शुभकामना सन्देश सुनाउनु भयो । 
 
महामहिम राष्ट्रपति डेनियल ओर्टेगाले ओहादाको प्रमाणपत्र ग्रहण गर्दै निकारागुवाका लागि असाधारण तथा सर्वाधिकार सम्पन्न राजदूतमा नियुक्त हुनु भएकोमा डा. कार्कीलाई बधाई दिनु भयो । उक्त अवसरमा महामहिम राष्ट्रपति डेनियल ओर्टेगाले नेपालका सम्माननीय राष्ट्रपतिको व्यक्तिगत सुख एवं स्वास्थ्यका साथै नेपाली जनताको निरन्तर शान्ति, प्रगति एवं सम्मृद्धिका लागि शुभकामना सन्देश सम्माननीय राष्ट्रपति समक्ष पुर्याइदिन राजदूत डा. कार्कीलाई आग्रह गर्नुभयो । महामहिम राष्ट्रपति डेनियल ओर्टेगाले नेपाल र निकारागुवावीचको द्धिपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विचार व्यक्त गर्नुभयो ।
rajdut 1
 यसअघि  डिसेम्बर १७ का दिन महामहिम राजदूत डा. अर्जुन कुमार कार्कीले निकारागुवाका परराष्ट्रमन्त्री महामहिम स्यामुअल स्यान्तोस लोपेजलाई निकारागुवाको परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा ओहोदाको प्रमाणपत्रको प्रति बुझाउनु भयो ।
 
महामहिम परराष्ट्रमन्त्रीले राजदूत डा. कार्कीलाई निकारागुवाका लागि पहिलो नेपाली राजदूतको रुपमा स्वागत गर्नुहुंदै महामहिम राजदूतकोे कार्यकालमा पूर्ण सहयोग रहने बताउनु भयोे । सो अवसरमा महामहिम राजदूत डा. कार्कीले उपप्रधान मन्त्री तथा परराष्ट्रमन्त्री माननीय श्री कमल थापाले पठाउनु भएको शुभकामना सन्देश सुनाउनु भयो । महामहिम परराष्ट्रमन्त्रीले दुवैमुलुकको विकासको अवस्था उस्तै भए तापनि आपसी सम्पर्क स्थापना नभएको भन्दै द्धिपक्षीय चासोका सम्भाव्य क्षेत्रहरुमा दुई देशवीचको सम्बन्धलाई सुदृढ गर्न आफु इच्छुक रहेको बताउनु भयो ।  वहांले निकारागुवाको मेलमिलाप तथा राष्ट्रिय एकता सरकारले ले सन् २००७-२०१४ मा आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको प्रगतिबारे राजदूत डा. कार्कीलाई अवगत गराउनु भयो ।
 
यसैगरी डिसेम्बर १८ का दिन राजदूत डा. कार्कीले निकारागुवाको नेसनल एसेम्ब्लीका प्रथम उपाध्यक्ष महामहिम आइरीस मोन्टेनेग्रोसंग वहांकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो । 
 
उक्त अवसरमा प्रथम उपाध्यक्ष मोन्टेनेग्रोले दुई देशवीचका सांसदहरुवीच विचार आदानप्रदान एवं आपसी सहयोगका लागि पार्लियामेन्टरी फ्रेन्डसीप ग्रुपको स्थापना गर्ने इच्छा व्यक्त गर्नु भयो । यसैगरी राजदूतले नेसनल एसेम्ब्लीका परराष्ट्र सम्बन्ध समितिका सभापति महामहिम यासिन्तो सुआरेजलाई वहांकै कार्यकक्षमा भेट गर्नुभयो । भेटका अवसरमा आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयहरुमा कुराकानी भएको थियो ।
 
महामहिम राजदूत डा. कार्कीले डिसेम्बर १७ का दिन निजी क्षेत्रको प्रतिनिधिसंस्था सीओएसईपी का अध्यक्ष होजे अदान अगोरीसंग समेत भेटघाट गरी निजी क्षेत्रसंग सहकार्य गर्न सकिने क्षेत्र र सम्भावनाबारे छलफल गर्नुभयो ।  
 

 

प्रतिक्रिया