बस व्यवसायीबीच आरोप प्रत्यारोप

इनेप्लिज २०७२ पुष ६ गते ४:१३ मा प्रकाशित

धनगढी, ६ पुस । रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कर्णाली रिभरसाइड यातायात व्यवसायी समिति, कैलालीका पदाधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार उजुरी दिइएको छ ।

समितिमा आबद्ध ३६ जना बस व्यवसायीको समूहले समितिका पदाधिकारीले रकम हिनामिना गरेको भन्दै प्रशासनमा उजुरी दिएका हुन् । योसँगै समितिका पदाधिकारी र बस व्यवसायी सदस्यबीचको विवाद पनि चुलिएको छ ।

व्यवसायीले आइतबार साँझ यहाँ पत्रकार सम्मेलन गरी पदाधिकारीमाथि छानबिन गरी कानुन बमोजिम कारबाहीको माग गर्दै उजुरी दिइएको जानकारी दिनुभयो ।

बस व्यवसायी ललित विकले कार्यसमितिका पदाधिकारीले करोडौँ रकम हिनामिना गरेको, समितिका लागि घर खरिद गरिएको बताइए पनि घर व्यक्तिका नाममा रहेको, मोटरसाइकल खरिद, अतिथि सत्कारमा अनियमितता गरिएको, बस व्यवसायीलाई बाहिरै राखेर अवैध ढङ्गबाट समितिको साधारणसभा गरिएको, लेखा परीक्षण नगरी झुठा आय व्यय विवरण पेस गरिएको लगायतका अनियमित काम गरेको पाइएकाले उजुरी दिएको बताउनुभयो ।

तीन दिनअघि सम्पन्न समितिको साधारणसभाले पुनः धीरज शाहीलाई समितिको अध्यक्षमा निर्वाचित गरेको थियो । समितिका अध्यक्ष शाहीले भने आफूहरुबाट कुनै अनियमितता एवम् भ्रष्टाचार नभएको दाबी गर्नुभएको छ ।

समितिमा आबद्ध १३१ बस व्यवसायीमध्ये अधिकांश व्यवसायी समितिका पदाधिकारीले आय व्यय विवरणमा अनियमितता गरेको भन्दै विरोधमा उत्रिएको बताइएको छ ।

प्रतिक्रिया