महायज्ञमा डेढ करोड सङ्कलन

इनेप्लिज २०७२ पुष ६ गते ३:५३ मा प्रकाशित

Parbat_district_locationफलेवास (पर्वत), ६ पुस । उत्तरी पर्वतको माझफाँट मल्लाजमा आयोजित श्रीमद् भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञ, २०७२ आइतबार सम्पन्न भएको छ ।

मङ्सिर २५ गतेदेखि सुरु भएको महायज्ञमा रु एक करोड ५० लाख सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । अन्तिम दिन आइतबार मात्रै करिब रु २३ लाख सङ्कलन भएको थियो । आठौँ दिन शनिबारसम्म रु एक करोड २३ लाख ९४ हजार सङ्कलन भएको थियो ।

सबैभन्दा बढी शनिबार रु ४० लाख सङ्कलन भएको थियो । महायज्ञमा शिवकुमार श्रेष्ठले रु २० लाख ४५ हजार १६५ दान गर्नुभएको आयोजक समितिका वरिष्ठ उपाध्यक्ष गुमानसिङ कार्कीले बताउनुभयो । यसैगरी माझफाँट– ८ का भीमबहादुर जिसीले रु सात लाख ७७ हजार ७७७ र चन्द्रबहादुर जिसीले रु तीन लाख ३३ हजार ३३३ दान गर्नुभएको थियो ।

माझफाँट– ७ स्थित ऐतिहासिक कोत भगवती मन्दिरको जीर्णोद्धार, पूर्वाधार निर्माण, पूजा व्यवस्थापन र मल्लाज क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले मङ्सिर २५ गतेदेखि सुरु भएको महायज्ञमा पण्डित कमलनयन गौतमले कथावाचन गर्नुभएको थियो ।

प्रतिक्रिया