बसपार्क निर्माण कार्य अलपत्र

इनेप्लिज २०७२ पुष ५ गते ३:३२ मा प्रकाशित

कञ्चनपुर, ५ पुस । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्ने कार्य अलपत्र परेको छ ।

भीमदत्तनगरपालिकाको स्वामित्वमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्नका लागि गत भदौ महिनामा रु १४ करोडको बोलपत्र आह्वान गरिए पनि ठेकेदारको मूल्याङ्कन गरी विवरण नगर विकास कोषमा उपलब्ध गराउने कार्य नहुँदा कार्य अगाडि बढ्न नसकेको हो ।

नगरपालिका चार महिनादेखि कार्यकारी अधिकृत विहीन भएपछि ठेक्का प्रक्रियाको कार्य अगाडि बढ्न नसकेको नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताउनुभयो ।

नगर विकास कोषले गत वर्ष नै बसपार्कलाई आधुनिकीकरण गर्नका लागि २० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराउन स्वीकृति प्रदान गरेको थियो ।
बसपार्क आधुनिकीकरण गर्नका लागि गुरुयोजना सहित लागत अनुमान र वातावरणीय अध्ययनको कार्य पूरा भई बोलपत्र आह्वान गरिएको अधिकृत धामीले बताउनुभयो ।

नगर विकास कोषको ९० प्रतिशत सहुलियत ऋणमा २० वर्षसम्ममा तिर्ने गरी बसपार्क निर्माण गरिने लक्ष्य रहेको छ ।

नगर विकास कोषले नियुक्त गरेको परार्मशदाता कम्पनी एलायन्स कन्सल्ट प्रालिले बसपार्क निर्माणको विस्तृत गुरुयोजना र वातावरणीय अध्ययनको कार्य गरेको छ ।

अत्याधुनिक बसपार्क निर्माणको विस्तृत गुरुयोजनाअन्तर्गत सुरक्षा पोष्ट, कार्यालय, ग्रिन पार्क, ट्याक्सी स्टेसन, डिजिटल सूचना बोर्ड, ढल निकास, शौचालय, व्यावसायिक कक्ष, भ्यू टावर, घन्टाघर, पेट्रोल पम्प, टिकट काउन्टर र गाडी स्टाफका लागि रेस्ट रुमको व्यवस्था रहेको छ ।

आव ०५३/५४ मा नगरपालिकाले सञ्चालनमा ल्याएको बसपार्क हाल पूर्णरुपमा जीर्ण अवस्थामा रहेको छ ।

खानेपानी, शौचालय र अन्य पूर्वाधारको व्यवस्थित तरिकाले विस्तार नगरिँदा यात्रुले समस्या झेल्नुपर्ने अवस्था रहेको छ । बसपार्क दुई बिगाहा चार कट्ठा क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया