म्याग्दीको बरंजालाई जिल्लामै पहिलो साक्षर गाविस घोषणा

इनेप्लिज २०७२ पुष ५ गते ३:२४ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ५ पुस । म्याग्दीको बरंजालाई शनिबार जिल्लाकै पहिलो साक्षर गाविस घोषणा गरिएको छ । सोही अवसरमा विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको गाविस पनि घोषणा गरिएको छ ।

बरंजामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५.२ प्रतिशत बासिन्दाले अङ्क, अक्षर चिन्न, पढ्न र लेख्न सक्ने भएपछि गाउँ शिक्षा समितिको आयोजनामा एक सामारोहका बीच साक्षर गाविस घोषणा गरिएको हो । लक्षित उमेर समूहका ९५ प्रतिशत बासिन्दा साक्षर बनेको अवस्थामा साक्षर घोषणा गर्न सकिने नीतिगत व्यवस्था रहेको छ ।

छ हजार ४४८ जनसङ्ख्या रहेको बरंजाको १५–६० वर्ष उमेर समूहका तीन हजार ७३८ जना मध्ये तीन हजार ५६७ जना साक्षर बनेको स्थानीय बासिन्दासमेत रहनुभएका जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति कृष्णलाल सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरंजामा रहेका एक हजार ४६९ जना विद्यालय उमेर समूहका बालबालिका विद्यालयमा भर्ना भएकाले कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको गाविस पनि घोषणा गरिएको छ । १३ वटा विद्यालय रहेको बरंजा एक नगरपालिका तथा ३५ गाविस रहेको म्याग्दीको पहिलो साक्षर गाविस हो ।

महेन्द्ररत्न उच्च मावि परिसरमा आयोजित समारोहमा सांसद रेशमबहादुर बानियाँले हाल निरक्षर रहेकालाई पनि साक्षर बनाउने र विद्यालय बाहिर कुनै पनि बालबालिकालाई रहन नदिने प्रतिबद्धता गर्नुभएको थियो ।

साक्षर गाविस घोषणा भएको खुसियालीमा बरंजाका बासिन्दाले विभिन्न झाँकी, बाजागाजा र नाचगान गरेर खुसियाली मनाएका छन् । कार्यक्रममा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल र जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले म्याग्दीका २४ वटा गाविसका ९५ प्रतिशत बासिन्दा साक्षर बनेको तथ्याङ्क रहेकाले त्यसलाई अनुगमन गरी आगामी एक वर्षभित्र जिल्लालाई साक्षर घोषणा गर्ने तयारी भएको बताउनुभयो ।

प्रतिक्रिया