पुनःनिर्माण कार्यलाई चाँडो अगाडि बढाउन आग्रह

इनेप्लिज २०७२ पुष ५ गते ३:२२ मा प्रकाशित

काठमाडौँ, ५ पुस । भूकम्पका कारण घर भत्किएको लामो समयसम्म पुनःनिर्माण नहुँदा भूकम्पपीडित जाडोको समयमा अझै पनि टहरामै बस्न बाध्य भएको भन्दै जतिसक्दो चाँडो पुनःनिर्माण कार्यलाई अगाडि बढाउन आग्रह गरिएको छ ।

नेपाल संरक्षण अभियानले सञ्चालन गरेको महत्वपूर्ण राजनीतिक अभियानको शनिबार उद्घाटनका क्रममा वक्ताहरूले विनाशकारी भूकम्पले तहसनहस भएका जनतालाई गास, बास र कपासको व्यवस्था गर्न जोडदार माग गर्नुभयो ।

समाजसेवी मानव सेवकले अहिलेका राजनीतिक पार्टी र पार्टीका नेता मुलुक निर्माणभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित भएको अवस्थामा सबैलाई समेटेर लैजाने राजनेताको आवश्यता औँल्याउनुभयो ।

संविधान निर्माण भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै सबै नेपाली एकजुट भएर मुलुकलाई आर्थिक र सामाजिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

नेपाल संरक्षण अभियानका संयोजक विष्णुप्रसाद शर्माले भूकम्प, बन्द, हडताल र नाकाबन्दीबाट मुलुक सङ्कटमा परेको अवस्थामा सबै नेपाली मिलेर त्यसको सामना गर्नुपर्ने बताउनुभयो । अभियानले विभिन्न क्षेत्रबाट मुलुक निर्माणमा योगदान पुर्‍याउने करिव दुई दर्जन ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

प्रतिक्रिया