कञ्चनपुरका तीस प्रतिशत नागरिक खानेपानीबाट वञ्चित

इनेप्लिज २०७२ पुष ४ गते ३:१२ मा प्रकाशित

Drinking-Waterबेलौरी (कञ्चनपुर), ४ पुस । कञ्चनपुरका अझै पनि तीस प्रतिशत नागरिक व्यवस्थित खानेपानीबाट वञ्चित छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चालु आव २०७२/०७३ को पुस मसान्तसम्ममा ३० प्रतिशत नागरिक खानेपानीबाट वञ्चित भएका हुन् ।

झन्डै साढे चार लाख जनसङ्ख्या रहेको कञ्चनपुरमा ८६ हजार ८६३ घरधुरी सङ्ख्यामध्ये ६१ हजार १७२ घरमा मात्रै व्यवस्थित खानेपानीको व्यवस्था छ । खानेपानीबाट वञ्चित २५ हजार ६९१ घरपरिवारले धारा, इनारको पानी खान बाध्य छन् । बेल्डाँडी र कृष्णपुर नगरपालिका, देखतभूली, शङ्करपुर, रैकवार र बाइसेविचुवामा खानेपानीका योजना अघि नसार्दा उक्त क्षेत्रका स्थानीयले धाराको र इनारको पानी उपभोग गरिरहेका छन् ।

खानेपानीको तथ्याङ्कअनुसार सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ८८.३६ र सबैभन्दा कम देखतभूली गाविसमा ५४.३ प्रतिशत घरधुर मात्रै खानेपानीको पहुँचमा छन् । यसैगरी सन् २०१५ भित्रै कञ्चनपुरलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहे पनि २१ हजार ३७० घरमा अझै पनि शौचालय निर्माण हुन सकेका छैनन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कञ्चनपुरका शाखा अधिकृत गौराजबहादुर लिम्बूले खानेपानीको पहुँचबाट टाढा रहेका र शौचालय बनाउन बाँकी रहेका घरपरिवारसँग छलफल गरेर शौचालय निर्माण गरिने बताउनुभयो । जिल्लामा विगतको भन्दा हालका वर्षमा खानेपानी र शौचालयको अवस्थामा सुधार आएको खानेपानी कार्यालयको दाबी छ ।

प्रतिक्रिया