तेत्तीस बुँदे सुधारको तत्कालीन कार्ययोजना सार्वजनिक

इनेप्लिज २०७२ पुष ४ गते ३:०२ मा प्रकाशित

पोखरा, ४ पुस । पोखरा उपमहानगरपालिकाले आगामी चैत ३ गतेसम्मको सुधारको तत्कालीन कार्ययोजना हिजो यहाँ एक कार्यक्रमबीच सार्वजनिक गरेको छ ।

हिजैदेखि लागू हुने गरी सार्वजनिक गरिएको ३३ बुँदे कार्ययोजनामा सर्वसाधारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा प्रभावकारिताका साथ सेवा प्रवाह गर्ने, पोखराको पर्यटकीय सम्भाव्यतालाई थप उजागर गर्ने, नगरमा थपिएका नयाँ वडालाई व्यवस्थित गर्नेलगायतका काम रहेका छन् ।

सो अवसरमा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले नगरको वर्तमान संरचनालाई पुनरावलोकन गरी हालको विभागलाई हटाइने र महाशाखामा रूपान्तरण गरिने बताउनुभयो ।

गुनासो व्यवस्थालाई प्रभावकारी बनाउन टोल फ्रि नम्बरको व्यवस्था गर्ने, नगरपालिकामा सडकको नियमित मर्मत सम्भार गर्दै मर्मत शाखा गठन गरी मर्मतलाई स्वचालित पद्धतिमा सञ्चालन गर्ने कार्यायोजनामा उल्लेख छ ।

फेवाताल फुटट्रयाक तथा साइकल ट्रयाकको सम्भाव्यता अध्ययन, साइकल लेनको कार्यान्वयन तत्कालै सुरु गर्ने, फेवाताल वरिपरि सडक सौर्य बत्ती जडान गरिने, हाल निर्मित सौर्य बत्तीको नियमित मर्मत सम्भार गर्ने कार्ययोजना राखिएको कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो ।

पेस्की फछ्र्योटलाई अभियानको रुपमा सञ्चालन गर्ने, हाल थप भएका साविक गाविस रहेका वडामै एकीकृत सम्पत्ति कर सङ्कलनको व्यवस्था मिलाइने, अन्य वडाले प्रयोग गरिरहेको सबै अधिकारमा चार किल्ला प्रमाणित, घर बाटो प्रमाणितजस्ता कार्य वडाबाटै गर्नेलगायतका विषय कार्ययोजनामा उल्लेख छ ।

सर्वसाधारणलाई सहज एवम् प्रभावकारी रुपमा सेवा प्रवाह गर्दै पोखराको समग्र विकासमा सहयोग पु¥याउने उद्देश्यले सुधारको तत्कालीन कार्ययोजना सार्वजनिक गरिएको भन्दै कार्यकारी अधिकृत अधिकारीले लक्ष्य पूरा नगरेको पाइएमा सम्बन्धित महाशाखा, शाखा वा उपशाखा प्रमुखको कमजोर कार्य सम्पादनका रुपमा मूल्याङ्कन गरी जिम्मेवारी हेरफेर एवम् विभागी कारबाहीसमेत हुने बताउनुभयो ।

प्रतिक्रिया