‘इको शिक्षक’ जैविक विविधता संरक्षण अभियान थाल्ने

इनेप्लिज २०७२ पुष २ गते १:१४ मा प्रकाशित

कावासोती, २ पुस । जैविक विविधता संरक्षण र व्यवस्थापनमा ‘इको शिक्षक’ ले संरक्षण अभियान थाल्ने भएका छन् ।

जैविक विविधताको संरक्षण र व्यवस्थापनले यहाँको वातावरण सन्तुलनमा राख्न र त्यसका माध्यमबाट यस क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पुग्ने भएकाले इको शिक्षकमार्फत जैविक विविधताको महत्व गाउँ तहमा लैजान देउरालीमा आयोजित अन्तक्र्रियाका सहभागीहरुले सो कुरा बताएका हुन् ।

महाभारत जैविक विविधता संरक्षण तथा सरोकार समाजको आयोजनामा जिल्लाका रुचाङ, नरम र देउराली गाविसका विद्यालयमा रहेका ‘इको शिक्षक’ हरुसँग दुई दिने अन्तक्र्रिया भएको हो ।

शिक्षकहरुले विद्यालयका कक्षा ५ देखि ९ सम्मका विद्यार्थीको सहभागितामा अभियान चलाउने बताएका छन् ।

सात वर्ष अगाडि नवलपरासीको पाँच गाविस र पाल्पाको भिरुवास गाविस गरी छ गाविसमा जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालनमा रहेको छ ।

तराई भू–परिधि कार्यक्रम (ताल), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) केयर नेपालको हरियो वन कार्यक्रम र राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाको सहयोगमा यहाँको जैविक विविधता संरक्षणको कार्यक्रम अगाडि बढेको महाभारत जैविक विविधता संरक्षण तथा सरोकार समाजका सदस्य श्याम थापाले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनले जैविक विविधता संरक्षणमा चुनौती बढ्दै गएकाले कसरी अनुकूलन गर्न सकिन्छ भन्ने विषयमा अन्तक्र्रियामा सहभागीबीच छलफल भएको समाजका सचिव हुमनाथ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया