मास्कोमा प्राच्यविद्याविषयक त्रिदिवसीय वैज्ञानिक सम्मेलन

इनेप्लिज २०७२ पुष २ गते १:१४ मा प्रकाशित

Vanina&Zutaev IVRAN14122015

मास्को, १४–१६ डिसम्बर २०१५ (सोमवार) । सधैंभैंm यस वर्ष पनि प्रसिद्ध प्राज्ञ युरी रेरिख –निकोलाइ रेरिखका जेष्ठ पुत्र) को स्मृतिमा प्राच्यविद्या संस्थानमा त्रिदिवसीय वैज्ञानिक सम्मेलनको आयोजना गरिएको थियो । त्यसमा मास्को र सेन्ट–पिटर्सबर्ग लगायत विभिन्न नगरका विभिन्न शिक्षण संस्थानकासाथै र कीभ (युक्रेन) बाट समेत प्राच्यविद्याको क्षेत्रमा अनुसन्धानरत विद्वान्हरुको सहभागिता रहेको थियो । सम्मेलनको उदघाटन गर्दै प्राच्यविद्या संस्थानका निर्देशक भालेरी आन्द्रोसोभले रुसमा जस्तै अवस्थामा पनि प्राच्यविद्याको अस्तित्व कायमै आशा व्यक्त गर्नुका साथै ५२ पल्ट क्ष्ुरी रेरखिको स्मृतिमा सम्मेलन सम्पन्न भइरहेकोमा सन्तोष जनाएका थिए ।
सम्मेलनको पाँच सत्रमा प्रस्तुत ३१ वटा कार्यपत्रहरुको विषय पनि रुस, मध्य एसिया, मङ्गोलिया, चीन, तिब्बत, नेपाल, भारत, श्रीलङ्का आदि व्यापक क्षेत्रलाई समेट्ने गरी निकै विविधतापूर्ण रहेको थियो । सम्मेलनमा प्रस्तुत पूर्वेली देशका प्राचीन र नव्य भाषा, साहित्य, वास्तुकला, चित्रकला, संगीत, संस्कृति, इतिहास, बुद्ध धर्म, हिन्दु धर्म, इस्लाम धर्म आदि विभिन्न विषयको विवेचना गरिएका सबै कार्यपत्रहरुको बारेमा यहाँ चर्चा गर्नु सम्भव छैन, न त सबै कार्यपत्रहरुका शीर्षकको सूची मात्र प्रस्तुत गर्नु समेत सम्भव छ । तैपनि नेपाली पाठकवृन्दको जानकारीका लागि केही कार्यपत्रहरुको नामोल्लेख गर्न चाहन्छु । उदाहरणका लागि भन्ने हो भने युक्रेनकी विदुषी ए.ओग्नेभाले ‘युरी रेरिखको अध्ययनकक्षमा रहेका थान्का (पौभा) हरुको चर्चा गरेकी थिइन् भने मास्कोकी विदुषी एन.आलेक्सान्द्रोभाले ‘बोधगयाको आध्यात्मिक भूगोल’ को वर्णन गरेकी थिइन् । सेन्टपीटर्सबर्गक िविदुषी एस.स्वेतकोभाले ‘कवीरको उपदेशको भाषिक तथा शैलीगत विशेषता’ बारे प्रकाश पारेकी थिइन् भने अर्कि विदुषी टी.सेलिभानोभाले चाहिं ‘इस्लाम पूर्वको काश्मिरमा अन्तर्जातीय अन्योन्यसम्बन्ध’ बारे बताएकी थिइन् । उनले ‘राज–तरङ्गिणी’ ग्रन्थको उल्लेख गर्नुका साथै काश्मिरमा धेरै पहिले नेपालबाट बसाइँ सरेका डम्बर भनिने जातिको सामाजिक स्तरोन्नतिबारे चर्चा गरेकी थिइन् र मैले त्यसको स्रोत जान्न खोज्दा यस जातिको शारीरिक बनावटको आधारमा किरात जातिको हुन सक्ने मेरो तर्कलाई स्वीकार गरेकी थिइन् । यस विषयमा गहन अनुसन्धानको खाँचो छ भन्ने मलाई लाग्छ ।

ZutaevD 2015
अधिकांस कार्यपत्रहरुमा वैदिक संस्कृति, संस्कृत र पाली भाषाका ग्रन्थहरुको चर्चा चलेको थियो । उदाहरणार्थ मास्कोकी विदुषी आ.ंगुरियाले रामायण र अश्वघोषकृत ‘बुद्धचरित्र’ को काव्यिक विवेचना प्रस्तुत गरेकी थिइन् भने एन.लिदोभाले ३६ अध्याययुक्त प्राचीन ग्रन्थ ‘नाट्यशास्त्र’ लाई पाँचौं वेद भन्न सकिने तर्क गर्दै यसको पूर्ण रुपले सुरक्षित एक मात्र पाण्डुलिपि भारतमा रहेको र दामोदर त्रिपाठीको सौजन्यताबाट खण्डित नै भए पनि नेपालमा सुरक्षित प्राचीन पाण्डुलिपि हेर्न पाइएको बताउँदा मलाई गर्वानुभूत हुनु स्वाभाविकै हो र मैले त्रिचन्द्र कलेजको विद्यार्थी छँदा घण्टाघरमुनिको भुईतलामा रहेको वीरपुस्तकालयमा पोका पारेर राखिएका प्राचीन ग्रन्थहरुको भण्डार कैयौंपल्ट देखेको सम्झना भएर आयो र हालै महाभूकम्पको मारमा परेको नेपालमा यस्ता अमूल्य ग्रन्थहरु आधुनिक तरीकाले सुरक्षित राख्न आवश्यक प्रयास भएको होला भन्ने कल्पना गर्न पुगेको थिएँ ।

Vanina&Zutaev IVRAN14122015
प्राचीन भारतीय कलासम्बन्धी ग्रन्थ ‘चित्रसूत्र’ को अनुवादसहित अनुसन्धानात्मक पुस्तककी लेखिका विदुषी भिक्टोरिया भेर्तोग्रादोभाले प्राचीन भारतीथ शिलाभिलेखहरुमा आधारित ‘भारतबाट कारा–तेपेसम्म’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने दार जुताएभले चाहि. युरी रेरिखको अध्ययनकक्षमा संग्रहित ‘नेपालको अज्ञात सचित्र पाण्डुलिपि’ बारे प्रकाश पारेका थिए । मैले सम्मेलनमा प्रस्तुत गरेको ‘नेपाली किम्बदन्तीहरुका पात्रको रुपमा नागहरु’ शीर्षकको कार्यपत्रमा पनि नेपालको संस्कृतिसम्बन्धी विषयवस्तुको नै विवेचना गरिएको सूचित गर्न चाहन्छु । रसियाली विद्वान्–विदुषीबाट राखिएका प्रश्न र जिज्ञासाबाट नाग र सर्पको भेद छुट्याउनेबारे नेपाली किम्बदन्ती लगायत नागविषयक हाम्रा विभिन्न किम्बदन्तीहरुले उनीहरुको ध्यान आकर्षित गरेको थियो भन्ने स्पष्ट हुन्थ्यो ।

SelivanovaTP SPb IVRAN 14122015
यसरी मास्कोको केन्द्रमा रहेको प्राच्यविद्या संस्थानमा तीन दिनसम्म पुर्वेली देशहरुको सभ्यता र संस्कृतिको बारेमा विचारविमर्श भएको थियो । नेपाली पाठकवृन्दलाई कुन कुरा पनि अवगत गराउन चाहन्छु भने ३ वर्षपछि रुस विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत रहेको प्राच्यविद्या संस्थानको स्थापना भएको दुई शताब्दी पूरा हुँदैछ । रुसमा नेपालको विभिन्न क्षेत्रको अध्ययन–अनुसन्धान गर्दै आएको रुसको यस विश्वविख्यात अनुसन्धान–केन्द्रसित म पनि गतः आधा शताब्दीभन्दा बढी समयदेखि नै सम्बन्धित रहेको छु ।
१६ डिसम्बर २०१५,
मास्को, रुस महासंघ ।

Rerikh14122015

प्रतिक्रिया