भूकम्प प्रभावित विद्यालयलाई साढे २३ करोड बजेट

इनेप्लिज २०७२ मंसिर २८ गते ४:२६ मा प्रकाशित

इलाम, २८ मङ्सिर । भूकम्प प्रभावित यहाँका १२६ वटा विद्यालयलाई भौतिक निर्माणका लागि जिल्ला शिक्षा कार्यालय इलामले रु साढे २३ करोड बजेट विनियोजन गरेको छ ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट विद्यालय चर्किएर पठनपाठन गराउन नसक्ने स्थितिमा पुगेका विद्यालयमा भवन निर्माणका लागि जिशिकाले रु २३ करोड ५३ लाख बजेट विनियोजन गरेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

तत्कालका लागि ती विद्यालयमा अस्थायी सिकाइ केन्द्र प्रदान गरिए पनि ती केन्द्र दीर्घकालीन नहुने भएकाले जिशिकाले शिक्षा विभागबाट बजेट माग गरी विद्यालयलाई प्रदान गरेको हो ।

जिशिकाका अनुसार आठकोठे तीनवटा भवन निर्माणका लागि रु ६४ लाख, छकोठे तीनवटा रु ४८ लाख, चारकोठे १३ वटा भवन निर्माणका लागि रु ३२ लाखका दरले बजेट विनियोजन भइसकेको छ ।
यसैगरी तीनकोठे १६ वटा भवनका लागि रु १९ लाख ५० हजार र दुईकोठे ९१ वटा भवनका लागि रु १३ लाख ५० हजारका दरले विनियोजन भइसकेको छ ।

आठ, छ, चार र तीनकोठे भवन बहुवर्षे योजनाअन्तर्गत र दुईकोठे भवन एकै वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने जिशिकाले जनाएको छ ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले जिल्लाका १५० भन्दा बढी विद्यालयमा क्षति पुगेको थियो । यसपाली विभागबाट आएको भौतिक निर्माणको बजेट भूकम्प प्रभावित विद्यालयलाई मात्र वितरण गरिएको र अब निकासा हुने शौचालय तथा विद्यालय मर्मतको बजेटसमेत भूकम्प प्रभावित विद्यालयलाई नै प्रदान गरिने जिशिअ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया