भूकम्पपीडितलाई एक करोड बढी अनुदान वितरण

इनेप्लिज २०७२ मंसिर २८ गते १:२१ मा प्रकाशित

फलेवास (पर्वत), २८ मङ्सिर । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडित बनेका परिवारको आयआर्जनमा सघाउ पुर्‍याउने उद्देश्यले पर्वतका विभिन्न गाविसमा रु एक करोड बढी वितरण गरिएको छ ।

समाज कल्याण स्रोत विकास केन्द्रले जिल्लाका ठानामौला र भंगरा गाविसमा रहेका भूकम्पपीडितलाई भूकम्पपछिको पुनःआयआर्जनका लागि रु एक करोड १४ लाख ७५ हजार अनुदान रकम वितरण गरेको हो । हेफर इन्टरनेसनल नेपालको सहयोगमा संस्थाले उक्त रकम वितरण गरिएको जनाएको छ ।

हेफर इन्टरनेसनल नेपालको सहयोगमा ठानमौला र भंगरा गाविसमा सञ्चालन भएको साना किसान उद्यम सवलीकरण परियोजनाअन्तर्गत परियोजनामा आबद्ध सहभागी महिलाकोे पुनः आयआर्जनका लागि सो रकम वितरण गरिएको परियोजना संयोजक दिनेशराज गौतमले जानकारी दिनुभयो ।

ठानमौला गाविसमा गठन भएका १६ वटा महिला स्वावलम्बी समूहका कुल ३३८ सदस्यका लागि प्रतिसदस्य रु १५ हजारका दरले रु ५० लाख ७० हजार वितरण गरिएको छ । त्यस्तै भंगरा गाविसका १९ स्वावलम्बी समूहका ४२७ सदस्यका लागि रु ६४ लाख पाँच हजार गरी कुल ७६५ सदस्यका लागि रु एक करोड १४ लाख ७५ हजार अनुदान रकम वितरण गरिएको गौतमले जानकारी दिनुभयो ।

समूहमा आबद्ध महिलाले प्राप्त गरेको रकमबाट जीविकोपार्जनमा सुधार गर्न बाख्रापालन तथा आधुनिक खोर निर्माणमा सो रकम परिचालन गर्ने जनाएका छन् । राज्यले दिने भनेको रकम अहिलेसम्म पाउन नसकेका उक्त गाउँका पीडितले आयआर्जनका लागि रकम पाएपछि ठूलो राहतको महसुस गरेका छन् ।

हेफर इन्टरनेसनलको सहयोगमा परियोजना सञ्चालन भइसकेपछि समूहमा आबद्ध महिलाले आधारशीला तालिम प्राप्त गरी नेतृत्व विकाससँगै जीविकोपार्जनका लागि तरकारीखेती, व्यावसायिक बाख्रापालन, पशुको आहारका लागि उन्नत घाँस प्रवद्र्धन तथा डालेघाँसका नर्सरीसमेत स्थापना गरेका छन् ।

प्रतिक्रिया