किम्फमा ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री हेर्नेको भीड, आज २४ वृत्तचित्र प्रदर्शनी

इनेप्लिज २०७२ मंसिर २६ गते १७:०३ मा प्रकाशित

yoga-1

काठमाडौँ । काठमाडौँ अन्तर्राष्ट्रिय हिमालयन फिल्म महोत्सवमा आज सञ्चारकर्मी गणेश पाण्डेद्वारा निर्देशित ‘भाग्यले बाँचेकाहरु’ सहित २४ वृत्तचित्र प्रदर्शन गरिएको छ । वैशाख १२ र १३ को भूकम्पमा परेर पनि बाँच्न सफल भएकाहरुको कथालाई समेटेर तयार पारिएको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ हेर्नेको भीड उल्लेख्य थियो । वृत्तचित्रमा भूकम्पमा परेर पनि जीवित रहन सफल भएका बसपार्कबाट ऋषिराम खनाल, पेम्बा लामा, धरहरा ढलेर बच्न सफल बबिता सेढाइँ, कार्भेस्थलीकी प्रिया विक, टुँडीखेलकी हरिमाया नेपाली, प्रहरी निरीक्षक लक्ष्मण बस्नेतलगायतको कथा समेटिएको छ । वृत्तभित्र प्रदर्शनी भइरहँदा आफ्नी आमासँगै आएका एक वर्षीय बालक सोनिस अवाल रमाउँदै हेरिरहेका थिए भने उनलाई काखमा लिंदै तस्बिर खिचाउनेहरुको सङ्ख्या निकै थियो । भूकम्पपछि भत्किएको संरचनामा परेर पनि बाँचेकाहरु, उनीहरुको परिवार, उद्दारमा खटिएका सुरक्षाकर्मीसँग लिइएको अन्तर्वार्ताले वृत्तचित्रलाई निकै मार्मिक देखाएको छ । जीवनमा धेरै काम गर्ने र आफ्ना परिवारका लागि केही गर्ने आशा लिएका उनीहरुमध्ये केहीको जीवन अपाङ्गताकै कारण निराश बनेको छ । वृत्तचित्रले भूकम्पलाई केही गरी रोक्न सकिन्न तर हामीले बनाउने भौतिक संरचनालाई बलियो पार्ने हो भने मानवीय क्षति बेहोर्नु नपर्ने सन्देश दिएको छ । यसअघि चिनियाँ निर्देशक टोङ्टोङ जुले तयार पार्नुभएको ‘द फाइनल वेस्टल अफ समर’ वृत्तचित्र देखाइएको थियो । जसमा एक छात्राले बास्केटबलका कारण पाएको चर्चालाई प्रस्तुत गरेको छ । विद्यालयस्तरको प्रतियोगिता खेल्नका लागि उनले जाँच नै दिनुपर्ने र त्यसमा सफल भएर उनले प्रतिनिधित्व गरेको विद्यालयलाई समेत सफलताको स्वाद दिएको देखाइन्छ । महोत्सवमा भारतीय, फ्रान्सेली, जर्मनी, मेक्सिकन वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो । उक्त महोत्सव मङ्गलबारसम्म चल्नेछ । रासस

प्रतिक्रिया