होटल रेष्टुराँ बन्द

इनेप्लिज २०७२ मंसिर २५ गते ९:४० मा प्रकाशित

Baglung_district_locationबलेवा (बागलुङ), २५ मङ्सिर । खाना पकाउने एलपी ग्यास ढुवानी नहुँदा जिल्लाका अधिकांश होटल तथा रेस्टुराँ बन्द भएका छन् ।

ग्यास नपाउँदा सदरमुकामका अधिकांश वासिन्दा गाउँ फर्किएका छन्, भने कतिपयले विकल्पम दाउरा प्रयोग गर्न थालेका छन् । होटल तथा रेस्टुराँले सेवा घटाएका छन् । “ग्यास अभावले व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ,” होटल व्यवसायी सङ्घका अध्यक्ष अर्जुन चोखालले भन्नुभयो– “सेवा कटौती गरेका छौँ, सीमित ग्राहकलाई मात्र खाना खुवाउनुपर्ने अवस्था आएको छ ।”

कतिपय होटल तथा रेस्टुराँ दाउरामा खाना पकाएर ग्राहकलाई सेवा दिइरहेका छन् । होटल बन्द गर्नुपर्ने अवस्था आएपछि दाउराको प्रयोग गर्न थालेको माछापुच्छे रेस्टुराँका सञ्चालक गोपाल थापाले बताउनुभयो । “डेढमहिनायता दाउरा प्रयोग गरिरहेको छु” बाग्लुङ नगरपालिका– ३ की मना केसीले भन्नुभयो । उहाँले घरको छतमा चुलो बनाएर खाना पकाउने गर्नुभएको छ ।

नाकाकन्दीका कारण आपूर्ति रोकिएपछि धौलागिरिका अस्पताल र मोडिकलमा औषधि अभाव भएको छ । बिरामीले सहजरुपमा औषधि पाउन सकेका छैनन्, भने अस्पतालमा पनि प्रसूति, र आकस्मिकलगायतका सेवा प्रभावित बनेका छन् । बागलुङ, पर्वत र म्याग्दीमा रहेका अञ्चल र जिल्ला अस्पताल, ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव भएको नेपाल औषधि व्यवसायी सङ्घ धौलागिरिका अध्यक्ष टेकनारायण शर्माले बताउनुभयो ।

“सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधि सकिएपछि सर्वसाधारण निजी क्लिनिकबाट महंँगोमा किन्न बाध्य छन्” उहाँले भन्नुभयो । दोस्रो चौमासिकका लागि गाउँका स्वास्थ्य संस्थामा पठाउने औषधि असोज महिनाभित्र नै जिल्ला आइपुग्नुपर्ने भएपछि अझै आउन सकेको छैन् ।

औषधि अभाव भएपछि जिल्लामा सञ्चालित निजी अस्पताल, क्लिनिक र औषधि पसल पनि बन्द हुने अवस्थामा पुगेका छन् । आकास्मिक सेवा प्रभावित हुन नदिन कतिपयले पोखरालगायतका ठाउँबाट औषधि ल्याएर सेवा दिइरहेका छन् ।

प्रतिक्रिया