भूकम्पपीडितलाई पठाइएको राहत रकम आधा पनि वितरण भएन

इनेप्लिज २०७२ मंसिर २५ गते ३:३६ मा प्रकाशित

फलेवास (पर्वत), २५ मङ्सिर । भूकम्पपीडितका लागि पठाइएको पहिलो र दोस्रो चरणको राहतमा आधा रकम पनि वितरण भएको छैन ।

पर्वत जिल्लामा भूकम्पपीडितलाई वितरणका लागि गाउँगाउँमा पठाइएको रु सात करोड एक लाख ३५ हजारमध्ये अहिलेसम्म रु दुई करोड ८० लाख २४ हजार मात्र वितरण भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतले कुस्मा नगरपालिका र ४७ गाविसमा वितरणका लागि पठाएको रकममध्ये अहिलेसम्म रु तीन करोड ७८ लाख ९४ हजार वडा सचिव र गाविस सचिवले फछ्र्योट गरेका छैनन् । वितरणका लागि पठाइएको मध्ये कतिपय गाविसले रकम बढी भएको भन्दै रु ४२ लाख ३४ हजार वितरण नगरी जिल्ला प्रशासनमै फिर्ता गरेका छन् ।

कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म पूर्ण क्षति भएकामध्ये ९०९ जना, तीन हजार १६४ परिवारले आंशिक क्षतिबापतको राहत रकम बुझेका छन् । पर्वतमा एक हजार ७६४ पूर्ण क्षति भएका परिवार छन् भने नौ हजार ५१३ परिवार आंशिक क्षति भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, पर्वतले दिएको जानकारीअनुसार अहिलेसम्म चित्रे, आर्थर, भोक्सिङ, बाजुङ, देउपुर, क्याङ, लुंखुदेउराली, बालकोट, सरैखोला, त्रिवेणी, हुवास, पाखापानी, कर्घा, शालिग्राम, उरामपोखरा, नाङ्लीबाङ, रानीपानी, टकलाक, शङ्करपोखरी गाविस र कुस्मा नगरपालिकाका १५ र १६ वडाले वितरण कार्य सकेर रकम फछ्र्योट गरेका छन् । यसमा आर्थर डाँडाखर्कलगायतका गाविसमा पूर्ण क्षति भएका परिवारलाई वितरण नगरी आंशिकलाई मात्रै वितरण गरेर बाँकी रकम फिर्तासमेत गरिएको कार्यालयका लेखापाल चित्रराज न्यौपानेले जानकारी दिनुभयो । कुस्मा नगरपालिकाको वडा नं ४ र ५ मा वडा सचिवले सरुवा भएको कारण देखाएर कुनै रकम वितरण नै नगरी फिर्ता गरेका छन् ।

भूकम्पपीडितहरु राहतको अभावमा पालमा रात बिताइरहेका बेला स्थानीय तहमा राजनीतिक भागबन्डा नमिलेका कारण धेरै गाविसमा रकम वितरण कार्य सहज रुपमा हुन नसकेको गाविस सचिवहरुले बताएका छन् । धेरै ठाउँमा पूर्ण र आंशिक छुट्याउन पनि कठिन भएकाले रकम वितरणमा समस्या भएको बताइन्छ ।

रकम फछ्र्योट नभए पनि धेरै रकम वितरण भइसकेको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताउनुभयो । “पहिले रकम वितरण नगरी बसेको देखिएको थियो, तर ताकेता गरेपछि धेरैले वितरण गरेका छन्”, प्रजिअ ढकालले भन्नुभयो – “केही ठाउँमा बाहेक वितरण भइसकेको हुनुपर्छ, फछ्र्योट मात्रै बाँकी हो ।”

सरकारले पूर्ण क्षति भएका परिवारलाई न्यानो कपडाका लागि रु १० हजार रकम वितरण गर्ने घोषणा गरिसकेको छ । पहिलो चरणको राहत रकम नै नपाएको अवस्थामा पूर्ण क्षतिको विवरणअनुसार न्यानो कपडाका लागि रु १० हजार बाँड्न समस्या हुने देखिएको छ । प्रजिअ झङ्कनाथ ढकालले न्यानो कपडाका लागि आएको रकम र पुरानो रकम बाँकी भए सँगसँगै वितरण हुने बताउनुभयो ।

प्रतिक्रिया