बत्ती बाल्ने आकाङ्क्षा अधुरै

इनेप्लिज २०७२ मंसिर २४ गते २:४८ मा प्रकाशित

जाजरकोट, २४ मङ्सिर । जाजरकोटी जिल्लावासीले धेरै पहिलेदेखि केन्द्रीय विद्युत् लाइनको बत्ती बाल्ने राख्दै आएको आकाङ्क्षा सुदूर सपना जस्तै भएको छ ।

केन्द्रीय विद्युत् लाइन प्रसारणको काम ठप्पै रोकिएपछि जिल्लावासीको आकाङ्क्षा सुदूर सपनाजस्तै भएको हो । धेरै पहिलेदेखि सुरु भएको बाँकेको कोहलपुरदेखि जाजरकोट खलङ्गा सदरमुकाम जोड्ने केन्द्रीय विद्युत् लाइन प्रसारणको काम हाल आएर रोकिएको छ । लाइन प्रसारणको काम रोकिएपछि छिट्टै विद्युतीकरण गरेर समृद्ध जिल्ला निर्माणको सपना बोकेका जिल्लावासी निरास हुन थालेका छन् ।

विकास निर्माणको पहिलो आधारका रुपमा रहेको विद्युत्जस्तो अनिवार्य कुरा नै जिल्लामा पुग्न नसकेपछि अन्य विकास निर्माणको परिकल्पना नै गर्न नसकिने नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहको तर्क छ ।

सुर्खेतको राकमदेखि जाजरकोट, जगतिपुर कुदुसम्मको विद्युत्लाइन तान्ने कामको जिम्मा नरेन्द्र निर्माण सेवाले ठेक्का लिएको धेरै समय बितिसकेको छ । निर्माण कम्पनीले लाइन तान्ने कामको थालनी नै गरेको छैन । लाइन तान्दा जङ्गलभित्रका बोटबिरुवाको विनाश हुने हुँदा जिल्ला वन कार्यालय र वन विभागले अनुमति नदिँदासम्म कामको थालनी गर्न नसकिने निर्माण कम्पनीको भनाइ छ ।

प्रतिक्रिया