महिला अधिकारका लागि जिम्मेवार भएर लाग्छु: सभामुख घर्ती

इनेप्लिज २०७२ मंसिर २२ गते १५:५३ मा प्रकाशित

onsari-gharti-magar-finalकाठमाडौँ, २२ मङ्सिर । सभामुख ओनसरी घर्तीले महिलाहरुले आफूलाई दिएको सम्मानले जिम्मेवारी बढाएको बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज गरेको सम्मान/शुभकामना एवम् ‘अग्रज महिला’ पुस्तक विमोचन कार्यक्रममा सभामुख घर्तीले राष्ट्रिय महिला आयोग वैधानिक आयोग भएकोले महिलाका मुद्दामा लाग्न र उद्देश्यमा पुग्न थप प्रयास जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले महिलाले आफूलाई जिम्मेवारी दिएर पठाएकाले महिलाका मुद्दामा लड्न आफू जिम्मेवार भएको बताउनुभयो ।

उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले नयाँ सविधानले महिलाकाबारेमा सुनिश्चित गरेका कुरा सकारात्मक भएपनि त्यो पूर्ण भने नभएको बताउनुभयो । महिलाका बारेमा समेट्नुपर्ने कुरा सविधानमा थप्दै र संशोधन गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।

महिलालाई मूलप्रवाहमा ल्याई सक्षम बनाउने कुरा ठूलो चुनौती भएको बताउँदै मन्त्री मैनालीले ती चुनौतीलाई पूरा गर्ने मूख्य जिम्मेवारी राजनीतिक पार्टीको भएको बताउनुभयो ।

महिलाले उठाएका मुद्दालाई सरकारले गम्भीररुपमा लिएको बताउँदै सरकारलाई घच्घच्याउने दायित्व महिला आयोगको भएको बताउनुभयो । केही उपलब्धी पाएकोमै सन्तुष्ट नहुन सचेत गराउँदै मन्त्री मैनालीले आफ्ना माग पूरा गराउन र भएका कुरा कार्यान्वयन भएकि भएनन् भनी अनुगमन गर्ने कार्य महिला आयोगको भएको स्पष्ट पार्नुभयो ।

एक फरक प्रसङगमा बोल्दै मन्त्री मैनालीले मधेसमा आन्दोलनरत दललाई आफ्नो आन्दोलन शान्तिपूर्ण रुपमा गरी नाका सहजरुपमा सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो—‘संघीयतामा जाने धेरै विकल्प भएकोले ती कुरा छलफल र वार्ताका माध्यमबाट खोजिनुपर्छ ।’ उहाँले मधेसका समस्या उच्चस्तरीय संयन्त्र बनाई खोज्नुपर्ने उल्लेख गर्दै अधिकार माग्ने कुरा जायज भएपनि मुलुकलाई अप्ठेरोमा पार्नु गलत भएको विचार राख्नुभयो ।

आयोगले नेपालमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका अग्रज महिलाको जीवनी समेटिएको पुस्तक पनि प्रकाशित गरेको छ । आयोगकी कार्यवाहक अध्यक्ष मनु हुमागाँईले अग्रज महिलाले गरेका कार्य र उपलब्धिका कारण महिलालाई आफ्ना हकअधिकारका लागि लड्न पुस्तकले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पुस्तकले आफ्नो लक्ष्यमा पुग्न विभिन्न सङ्घर्ष गर्दै राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा सफलता हासिल गरेका महिलाको जीवनीले वर्तमान महिलालाई पे्ररणा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया