खानेपानीमा ब्याक्टेरियाको जीवाणु फेला

इनेप्लिज २०७२ मंसिर २१ गते १:३२ मा प्रकाशित

Drinking-Waterभैरहवा, २१ मङ्सिर । लुम्बिनी क्षेत्रको पिउने पानीमध्ये केहीमा ब्याक्टेरियाको जीवाणु फेला परेका छन् ।

अन्तर्राष्ट्रिय बौद्ध समाजले लुम्बिनी एसोसिएसन फ्रान्सको प्राविधिक सहयोगमा सुरु गरेको पिउने पानी परीक्षणमध्ये केही नमुनाहरुमा ब्याक्टेरियाका जीवाणु फेला परेको हो ।

लुम्बिनी र वरपरका क्षेत्रमा विभिन्न सङ्घसंस्था, विद्यालयलगायतका सार्वजनिक स्थानमा गाडिएको डिप बोरिङबाट आउने पानीको अहिले परीक्षण सुरु भएको छ ।

परीक्षणका लागि फ्रान्सको एक संस्था लुम्बिनी एसोसिएसनका चार स्वयम्सेवक खटिएका छन् । डा बृहत क्लाउडको नेतृत्वमा इन्जिनियर गाब्रियल बर्नियर, पियारे मास र ल्याब प्राविधिक औरेलिन कोलिमार्डको टिमले पानीको नमुना सङ्कलन गर्दै परीक्षण गरिरहेको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रेयले बताउनुभयो ।

उनीहरुले अहिलेसम्म ७३ वटा बोरिङको पानीको नमुना परीक्षण गरिसकेका छन् । त्यसमध्ये पाँचदेखि १० प्रतिशतमा ब्याक्टेरिया जीवाणु फेला परेका हुन् – भिक्षु मैत्रेयले भन्नुभयो ।

तीन हप्तासम्मको अवधिमा कम्तीमा १५० वटा बोरिङको पानीको परीक्षण गरिने टिम लिडर डा बृहत क्लाउडले बताउनुभयो । क्लाउडका अनुसार सबै पानी नराम्रो भने छैन । केही बोरिङको वरिपरि जमेको फोहर र पछि त्यही पानी रसाएर तल जम्मा हुनेजस्ता कारणले ब्याक्टेरिया फेला परेको डा क्लाउडले जानकारी दिनुभयो ।

परीक्षण गरेको पानीमध्ये केही धाराको पानीमा ब्याक्टेरियाका जीवाणु फेला परेपछि उनीहरुले पानी उमालेर पिउन वा क्लोरिन हालेर फिल्टर गरी पिउन सुझाव दिएका छन् ।

प्रतिक्रिया