मोटरसाइकलको लटअनुसार पेट्रोल वितरण गर्ने तयारी

इनेप्लिज २०७२ मंसिर २० गते १४:१८ मा प्रकाशित

petrol-pump_thumbकाठमाडौँ, २० मङ्सिर । नेपाल आयल निगमले मोटर साइकललाई लटअनुसार पेट्रोल उपलब्ध गराउने भएको छ ।

निगमले एक लटदेखि २५ लटसम्मकालाई २२ गते मङ्गलबार पेट्रोल उपलब्ध गराउने निर्णय गरेको हो । निगमसँग करिब ३० लाख लिटरभन्दा बढी पेट्रोल मौज्दात रहेको र वीरगन्ज नाकाबाहेक अन्यत्र नाकाबाट सहज रुपमा इन्धन भित्रन थालेपछि निजी सवारीसाधनलाई इन्धन बिक्री गर्न लागिएको हो ।

निगमले २६ देखि ४० लटसम्म मङ्सिर २४ गते, ४१ देखि ५५ सम्म २६ गते र ५६ लटभन्दा माथिकालाई २८ गते पेट्रोल उपलब्ध गराइनेछ । इन्धन वितरणमा सहज होस् भनेर दिन बिराएर बिहान ९ बजेबाट नै इन्धन वितरण गर्न लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले राससलाई जानकारी दिनुभयो ।

प्रत्येक मोटरसाइकललाई चार लिटरका दरले पेट्रोल दिइनेछ । त्यसका लागि राजधानीका विभिन्न पम्पमा अघिल्लो दिन नै इन्धन उपलब्ध गराइने प्रवक्ता घिमिरेको भनाइ छ । यसअघि सोमबारदेखि पेट्रोल दिइने बताइएको भए पनि सबैले सहज रुपमा पाऊन् भन्ने मनसायले मङ्गलबार इन्धन बिक्री गर्न लागिएको प्रवक्ता घिमिरेको भनाइ छ ।

कालोबजारी मौलाएको र इन्धन पर्याप्त भएर पनि वितरण नगरिएको भन्दै निगमको चर्को आलोचना भएपछि निजी सवारीसाधनलाई लटअनुसार बिक्री गर्न लागिएको हो । तिहारपछि निजी सवारीसाधनले इन्धन पाएका छैनन् । पहिलो चरणमा मोटरसाइकललाई पेट्रोल दिएपछि दोस्रो चरणमा बार मिलाएर जिप र कारलाई इन्धन दिइने प्रवक्ता घिमिरेको भनाइ छ ।

निगमले अत्यावश्यकीय सवारीसाधनलाई कोटा प्रणालीका आधारमा इन्धन उपलब्ध गराउँदै आएको छ । पछिल्लो दिनमा विभिन्न नाकाबाट भित्रिएको इन्धनका कारण कालोबजारी मौलाएको छ ।

तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीपछि सहज हुन नसकेको अवस्थामा कालोबजारी मौलाएको छ । त्यसलाई नियन्त्रण गर्न पनि इन्धन वितरण गर्न लागिएको निगमले जनाएको छ ।

प्रतिक्रिया