चौतारीको आठौँ महाधिवेशन फागुनमा

इनेप्लिज २०७२ मंसिर १९ गते १५:१२ मा प्रकाशित

Press-Chautariकाठमाडौँ, १९ मङ्सिर । प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

वर्तमान कार्यसमितको तीनवर्षे कार्यकाल फागुन २८ मा पूरा हुने भएपछि आठौँ महाधिवेशन तोक्न चौतारीको केन्द्रीय कमिटीको बैठक आउँदो पुस ४ गते काठमाडौँमा तय गरिएको छ ।

चौतारीको आजको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजनाबारे विस्तृत छलफल गर्ने महासचिव माधव नेपालले जानकारी दिनुभयो ।

चौतारीको सातौँ महाधिवेशन २०६९ फागुनमा विराटनगरमा भएको थियो । बैठकले उपाध्यक्ष उपेन्द्र केसीको संयोजकत्वमा विधान संशोधन कमिटी पनि गठन गरेको छ । भावी अध्यक्षका लागि सल्लाहकार गणेश बस्नेत र विष्णु रिजाल, उपाध्यक्ष केसी र महासचिव नेपालको चर्चा चलेको छ ।

सचिवालय बैठकले रिक्त मेची इञ्चार्जसहित केन्द्रीय सदस्यमा झापाका तीर्थ सिग्देललाई मनोनित गरेको छ भने सहइञ्चार्ज र केन्द्रीय सदस्यमा गोपाल गड्तौलालाई जिम्मेवारी दिएको छ ।

यस्तै इलामका सटेन्द्र जगेबुलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय सदस्य रमेश पोखरेल निलम्बित भएपछि मेचीको इञ्चार्ज पद रिक्त भएको थियो ।

प्रतिक्रिया