अत्यावश्यक औषधिको अभाव हुँदा बिरामी थप मारमा

इनेप्लिज २०७२ मंसिर १८ गते १:४७ मा प्रकाशित

Medicinesपरासी, १८ मङ्सिर । नवलपरासीका स्वास्थ्य संस्थाहरुमा लामो समयदेखि अत्यावश्यक औषधिको अभाव हुँदा बिरामी थप मारमा परेका छन् ।

जिल्लामा यतिबेला विभिन्न एन्टिवाइटिक औषधिसहित अक्सिजन, गर्भवतीलाई प्रयोग गरिने सुईको चरम अभाव कायमै छ ।

उपचार सेवा लिन आएका बिरामीलाई परीक्षण गरे पनि आवश्यकताअनुसार औषधि दिन नसक्दा बिरामी समस्यामा परेको पृथ्वीचन्द्र अस्पतालका प्रमुख चिकित्सक मोहमद नुरुल होलाले बताउनुभयो ।

विभिन्न सरकारी स्वास्थ्य संस्थामा सरकारले ७० प्रकारका औषधि निःशुल्क रुपमा प्रदान गर्ने जनाए पनि हाल जिल्लाको जिल्ला अस्पतालसहित प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा जम्मा पाँचदेखि सातवटा औषधिमात्र रहेको छ ।

गाउँगाउँमा रहेका स्वास्थ्य चौकीमा बिरामी उपचार सेवा लिन आए पनि औषधि अभावमा उपचार सेवा पाउनबाट वञ्चित भएको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रका वरिष्ठ स्वास्थ्य सहायक सुरेन्द्रकुमार शाहले बताउनुभयो ।

जिल्लामा एक जिल्ला अस्पताल, पाँच प्राथमिक स्वास्थ्य केन्द्र, र ७१ वटा स्वास्थ्य चौकी रहेका छन् । यसबाहेक निजी क्षेत्रका पाँच ठूला अस्पताल र दर्जनौँ स्वास्थ्य क्लिनिक छन् ।

प्रतिक्रिया