पत्रकारमाथि आक्रमण गर्ने जेल चलान

इनेप्लिज २०७२ मंसिर १६ गते ३:३१ मा प्रकाशित

सुरुङ्गा (झापा), १६ मङ्सिर । जिल्ला अदालत झापाले पत्रकार रेजिना रोदन र पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँच–पाँच वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आक्रमणमा संलग्न अमन भनिने अर्जुन सुब्बा र विनायक मानन्धरलाई पाँच–पाँच वर्षको कैद फैसला गरेको अदालतका स्रेस्तेदार नवराज आचार्यले जानकारी दिनुभयो ।

पत्रकारद्वयमाथि आक्रमणमा संलग्न अनिस सुब्बालाई नाबालक रहेका कारण बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ (३) अनुसार बाल सुधार केन्द्र विराटनगरमा २ वर्ष ६ महिना राखेर कैद भुक्तान गर्नसमेत फैसला गरेको स्रेस्तेदार आचार्यले बताउनुभयो ।

विसं २०७१ कात्तिक २ गते विष्णुमाया गौतमको जाहेरीले जिल्ला अदालत झापामा दर्ता भएको उक्त मुद्दाका अभियुक्तहरुले अर्जुनधारा दैनिकमा कार्यरत पत्रकार रोदन र बराललाई कार्यालयको काम सम्पन्न गरेर घर फर्कने क्रममा बीच बाटोमा आक्रमण गरेर घाइते बनाएका थिए ।

प्रतिक्रिया