सबैको धर्म–संस्कृतिलाई सम्मान गर्नुपर्छः पूर्व सभामुख नेम्वाङ

इनेप्लिज २०७२ मंसिर १० गते १३:४४ मा प्रकाशित

subasnembangइलाम, १० मङ्सिर । पूर्वसभामुख सुवास नेम्वाङले नेपाल सबै जातजातिको साझा देश भएकाले सबैको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

इलामको चुलाचुली–१ मा फाल्गुनन्द माङ्गेना सेवा सङ्घले सञ्चालनमा ल्याउन लागेको बहुभाषिक पाठशालाको आज उद्घाटन गर्दै उहाँले नेपालमा धेरै जातजाति र भाषासंस्कृतिका मानिसको बसोबास भएकाले सबैको संस्कृतिलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पाठशालामा सबै जातजातिको अध्यापन हुने भएकाले यसलाई सदैव आफ्नो साथ र समर्थन रहने विचार व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको अहिलेको विद्यमान परिस्थिति एकदमै सङ्कटतर्फ गइरहेकाले आन्तरिक मामिला आफैं मिलेर समाधान गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।

उहाँले तराईमा जारी मधेस आन्दोलन र नाकाबन्दीका कारण देश सङ्कटतर्फ उन्मुख भइरहेकाले आन्दोलनरत दललाई वार्ता र सम्वादबाट समाधान खोज्न आग्रह गर्नुभयो ।

फाल्गुनन्द नुमाङ्गेना सेवा सङ्घले निर्माण गरेको पाठशालामा लिम्वू, संस्कृत, नेपालीलगायतका विभिन्न भाषाभाषीको अध्यापन हुने सङ्घका अध्यक्ष डम्बर तुम्वाफोले बताउनुभयो । उक्त पाठशालालाई पूर्वकै अध्ययन केन्द्र र भाषिक विश्वविद्यालय बनाउने लक्ष्यअनुरूप भाषिक अध्यापन थालिएको उहाँले बताउनुभयो । पाठशाला भोलिदेखि सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया