पेट्रोलियम पदार्थको तौलमा ठगी गर्ने दुई पम्पमा शिलबन्दी

इनेप्लिज २०७२ मंसिर ९ गते १४:५२ मा प्रकाशित

petrol-pump_thumbपथरी (मोरङ), ९ मङ्सिर । पेट्रोलियम पदार्थको कालाबजारी गर्ने एवम् तौलमा ठगी गरेको आरोपमा विराटनगरका दुई पम्पलाई आज शिलबन्दी गरी कारोबारमा रोक लगाइएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले कोसी आयलको डिजल वितरण मेसिन र एबी पेट्रोलपम्पको पेट्रोल वितरण गर्ने पम्पमा शिलबन्दी गरी कारोबार रोक्का गरेको नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मनिषकुमार दासले बताउनुभयो ।

वाणिज्य मन्त्रालयको अगुवाइमा नापतौल क्षेत्रीय कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको टोलीले कोसी आयलको डिजल वितरण मेसिन र एबी पेट्रोलपम्पको पेट्रोल वितरणको मेसिन जाँच गर्दा तौलमा ठगी गरेको पाइएपछि सो पम्प शिलबन्दी गरी सो कारबाही गरिएको हो ।

नाप तौल ऐन २०२५ अनुसार नापतौलमा अनियमितता गरिएकाले पम्प चालकलाई समेत लिखित स्पष्टीकरण माग गरिएको छ । सो पम्पका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन जान अनुगमन टोलीले निर्देशन दिएको छ ।

विराटनगरमा आज सञ्चालनमा रहेका चार पेट्रोलपम्पमा गरिएको अनुगमनका क्रममा दुई वटा पेट्रोलपम्पलाई नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले पेट्रोलियम पद्धार्थ बिक्री वितरणमा रोक लगाएको हो ।

अनुगमन टोलीले विराटनगरका आज आधा दर्जन बढी पेट्रोलपम्पमा गरेको अनुगमनका क्रममा अधिकांश पेट्रोलपम्पले ५ एमएलसम्म कम दिने गरेको भए पनि त्यसलाई सामान्य मानिने र १५ एमएलभन्दा तल माथि भएपछि वितरण प्रणाली फेल हुने भएको कारण दुई पम्पलाई शिल गर्नुपरेको वाणिज्य कार्यालय विराटनगरका प्रमुख नयराज नेपालले जानकारी दिनुभयो ।

उहाँले केही पेट्रोलपम्पले आफूखुसी सिफारिसभन्दा बाहिर गएर पनि पेट्रोलियम पद्धार्थ बेच्ने गरेको पाइएको बताउनुभयो । अनुगमनका क्रममा तिरुपति पेट्रोलपम्पले उपभोक्तालाई वितरण गर्नुपर्ने तेल अन्यन्त्र बिक्री वितरण गरेको पाइएकाले त्यस पम्पलाई तत्काल वितरण प्रणाली पारदर्शी राख्न र वितरित पेट्रोलियम पद्धार्थको यर्थात विवरण राख्न भनिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटाले जानकारी दिँदै कालोबजारी गर्नेलाई कारबाही प्रक्रियामा ल्याइने बताउनुभयो ।

प्रतिक्रिया