मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

इनेप्लिज २०७२ मंसिर ६ गते २:४० मा प्रकाशित

कञ्चनपुर, ६ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका– ९ ब्रह्मदेवमा रहेको सिद्धनाथ माध्यमिक विद्यालय मन्दिरको भेटीबाट सञ्चालन हुँदै आएको छ ।

मन्दिरमा दर्शनार्थी र भक्तजनले चढाएको भेटी रकममध्ये केही रकम विद्यालयका शिक्षकको तलब र भौतिक पूर्वाधार निर्माणका लागि मन्दिर व्यवस्थापन समितिले खर्च गर्दै आएको छ ।

एक दशकदेखि सिद्धनाथ मन्दिर संरक्षण समितिले विद्यालयमा रहेका ११ अस्थायी शिक्षकको तलबका लागि विद्यालयलाई वार्षिक रुपमा रु दुई लाखका दरले रकम प्रदान गर्दै आएको विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष विष्णुदत्त जोशीले बताउनुभयो ।

विद्यालयको माध्यमिक तहका सात, निम्न माध्यमिक तहका एक र प्राथमिक तहका तीनजना निजीस्तरबाट राखिएका शिक्षकको तलबको व्यवस्था मन्दिर संरक्षण समितिले मिलाउँदै आएकाले विद्यालय सञ्चालन गर्न सहज भएको जोशीले बताउनुभयो ।

विद्यालयसँग आफ्नो भवन नभएपछि छकोठे विद्यालय भवन र विद्यालयको बाहिरी पर्खालसमेत मन्दिरको भेटी रकमबाटै निर्माण गरिदिएको सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष वीरबहादुर खडकाले बताउनुभयो ।

उच्च माध्यमिक विद्यालय सञ्चालन गर्न रु आठ लाख धरौटीका लागिसमेत विद्यालयलाई रकम उपलब्ध गराएका छाँै उहाँले भन्नुभयो – “अभिभावकहरुको आर्थिक अवस्था निकै कमजोर रहेको र खेतमा फलाएको अन्नसमेत तीन महिना बढी नपुग्ने भएकाले विद्यालयलाई चन्दा दिन नसक्ने अवस्था भएपछि मन्दिरको कमाइमध्येको केही रकम विद्यालयलाई दिने निर्णय गरेका हौँ” –उहाँले भन्नुभयो ।

विद्यालयमा ६०० बढी बालबालिका पठनपाठन गर्दै आएका छन् । विद्यालयमा पठनपाठन गर्ने अधिकांश विद्यार्थी दलित र विपन्न समुदायका रहेका छन् ।

मन्दिर संरक्षण समितिले मन्दिरमा चढ्ने प्रसादको ठेक्काबाट प्रतिवर्ष रु ४० लाख, पसलको भाडाबापत रु चार लाख र मन्दिरमा चढ्ने भेटीबाट रु २० लाख बढी आम्दानी गर्दै आएको छ ।

प्रतिक्रिया