विदेशी पर्यटक भन्छन्: ‘पदमार्ग सुरक्षित छ, गोरखा घुम्न आउनुहोस्’

इनेप्लिज २०७२ मंसिर ६ गते २:२७ मा प्रकाशित

गोरखा, ६ मङ्सिर । मनास्लु पदमार्गको केही खण्ड हुँदै गुम्दा–लाप्राक–बारपाक घुमेर सदरमुकाम फर्केको विदेशी पर्यटकको टोलीले भूकम्पपछि पनि गोरखाका पदमार्गहरु सुरक्षित रहेको बताएका छन् । पहिरोले पदमार्गका केही ठाउँ जोखिमयुक्त भए पनि अधिकांश ठाउँ सुरक्षित रहेकाले निर्धक्क साथ घुम्न आउन विदेशी पर्यटकले आग्रह गरेका छन् ।

तेह्रदिने पदयात्रा आफ्नो टोलीले सहजै पार गरेको बताउँदै जर्मनकी डाग्मारले भन्नुभयो – “अग्ला पहरा, छहरा र पहिरो पार गर्दै हामीले सुखसाथ यात्रा पार गर्‍यौँ ।” डाग्मारसहित छजना जर्मनी नागरिकको टोली आरुघाट बजार, सोती, माछाखोला हुँदै गुम्दा निस्केर लाप्राक, बारपाक पुगेर फर्केका हुन् ।

उनीहरुले आरुघाटदेखि माछाखोलासम्मको मनास्लु पदमार्ग हिँडे । लापुभिर र माछाखोलाको पहिरो कट्न केही असहज भए पनि त्यसपछिको यात्रा रमाइलो भएको डाग्मारको अनुभव छ । “भूकम्पले भत्काएका बाटाहरु मर्मतमा सरकारले ढिला गर्नुभएन”, उहाँले भन्नुभयो – “पदयात्रा गर्न आएका स्वदेशी, विदेशी पदयात्रीले अनावश्यक दुःख पाउनु राम्रो होइन ।”

उनीहरु पहिलो पटक नेपाल आएका हुन् । भूकम्पले गाउँ, बस्तीहरु भत्केको जर्मनमा सुनेका उनीहरुले थुमी गाविसको स्वाँरामा भवन निर्माण गरेर पुनःनिर्माणमा पनि सहयोग गरे । कर्मालय फाउन्डेसनले बनाएको भूकम्पले भत्काएको भवन मर्मत गरेर उनीहरुले गाउँलेलाई सहयोग गरेका हुन् । “पर्यटकहरु ढुङ्गा, माटो खेल्नमा रमाए । भूकम्पले भत्केको भवन मर्मतमा जुटे” – पर्यटकका गाइड मानसिङ राईले भन्नुभयो ।

पदयात्रीहरु जोखिमयुक्त पदयात्रा रुचाउँछन् । अन्नपूर्ण पदमार्गलाई सडक सञ्जालले छोएपछि विदेशी पर्यटकको रोजाइ मनास्लु पदमार्गमा परेको छ । वर्षको छ हजारभन्दा बढी विदेशी मनास्लु क्षेत्रको भ्रमणमा आउने गरेका छन् । भूकम्पपछि पदयात्रीको सङ्ख्या घटेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ ।

गुम्दा र लाप्राकका भूकम्पपीडितलाई चिसोबाट जोगाउन सरकारले न्यानो कपडा वितरण गर्नुपर्ने देखिएको बताउँदै पर्यटकले भूकम्पपीडितहरुले घरविहीन भए पनि संस्कार र संस्कृति नछाडेकामा गर्व गरेका छन् । “दुर्गम गाउँमा अनगिन्ती समस्याहरु छन् । समाधानको एउटै उपाय पुनःनिर्माणको सुरुवात् गर्नु हो” डाग्मारले भन्नुभयो ।

भूकम्पले उत्तरी हिमाली जिल्लाका अधिकांश पदमार्ग, ऐतिहासिक धरोहर भत्काएको सन्देश विदेशमा फैलिएको भन्दै सञ्चारमाध्यममार्फत ‘नेपालका चिनारी, गहनाहरु’ सुरक्षित रहेको सन्देश विश्वसामु फैलाउनुपर्नेमा पर्यटक जोड दिन्छन् । उनीहरुले गोरखा दरबारलगायत गोरखाका विभिन्न ऐतिहासिक धरोहरको पनि अवलोकन गरेका छन् ।

भूकम्पपछि पर्यटकको चहलपहल कम भएको र भारतीय पक्षले गरेको नाकाबन्दीले इन्धन, पेट्रोलियम तथा खाद्य सामग्रीको अभाव चुलिँदै गएपछि पदमार्ग तथा गोरखाबजार क्षेत्रका होटल शून्य छन् । पर्यटकको भीड लाग्ने होटल गोरखा बिसौनीका कर्मचारी शङ्कर पाण्डेले भन्नुभयो – “मेन्यूअनुसार खाना, खाजा खुवाउन सकिएको छैन ।” नाकाबन्दी र भूकम्पको मारमा गोरखाका होटल प्रभावित छन् ।

प्रतिक्रिया