भारदहमा प्रहरीको गाडीमा तोडफोड, राजमार्ग तनावग्रस्त

इनेप्लिज २०७२ मंसिर ५ गते १५:१५ मा प्रकाशित

सप्तरी, ५ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा मधेसी मोर्चाका आन्दोलनकारीले आज साँझ प्रदर्शन गर्ने क्रममा एउटा प्रहरीको गाडीमा तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

आन्दोलनकारीले ना १ झ १२५४ नम्बरको प्रहरीको गाडीमा तोडफोड गर्नुका साथै अगाडिको सिसा फुटाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा सामान्य क्षति भएको छ ।

सप्तरी मोर्चाले तिहार र छठ पछि सशक्त आन्दोलन गर्ने क्रममा आजदेखि राजमार्ग केन्द्रित आन्दोलन थालेका छन् ।

सो क्रममा मधेसी मोर्चाका कार्यकर्ताले आज साँझदेखि राजमार्गको भारदह, रुपनी, बिसनपुर र कदमाहा सडक खण्डमा नाराबाजी गर्दै प्रदर्शन गरी राजमार्ग अवरुद्ध पारेका छन् ।

राजमार्ग क्षेत्रअन्तर्गत सप्तरीको पूर्वमा कोसी ब्यारेजदेखि पश्चिममा लहानस्थित बलान खोलासम्म तनावग्रस्त रहेको बताइएको छ ।

यसैबीच, सो क्षेत्रमा गाडी स्कर्टिङ गर्नका लागि प्रहरीसमेत तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया