अनुदान लिन कोही आएनन्

इनेप्लिज २०७२ मंसिर ५ गते १:३८ मा प्रकाशित

काँकडभिट्टा (झापा), ५ मङ्सिर । किसानकै उदासीनताका कारण सरकारले दिएका थुप्रै अनुदानका बजेट खर्चै नभएर खेर जाने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय झापाले प्राङ्गारिक मल उत्पादन र बासनादार धानखेतीका लागि चालु आवमा लाखौँ रकमको अनुदान बजेट विनियोजन गरे पनि अनुदान माग्न अहिलेसम्म एक जना किसानको समेत निवेदन नपरेको कार्यालयले जनाएको छ ।

कार्यालयले प्राङ्गारिक मल उत्पादनमा रु ३० लाख ६० हजार र बासनादार धान तथा मकैखेतीमा रु ८७ लाख अनुदानको बजेट छुट्याएको थियो ।

कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईका अनुसार साउनदेखि कात्तिकसम्मको पहिलो चौमासिकमा अनुदान मागको एउटा पनि निवेदन परेको छैन ।

“अनुदान आएको छ, लैजानुस् भनेर पत्रपत्रिका र एफएममार्फत जानकारी गराएका छौँ,” अनुदानप्रति किसानले नै चासो नदेखाएको बताउँदै भट्टराई भन्नुहुन्छ – “यति गर्दा पनि कोही आएका छैनन् ।”

कार्यालयमा चालु आवमा खर्च हुने गरी किसानलाई रु दुई करोड २८ लाख १४ हजार अनुदानको कुल बजेट आएको छ । अन्य शीर्षकमा अनुदान लिन किसान आउने गरे पनि प्राङ्गारिक मल, धानखेतीलगायतका शीर्षकमा अनुदान लिन किसानले नै चासो नदेखाएको भट्टराईको गुनासो छ ।

सरकारले विशेष कृषि उत्पादनका लागि प्राङ्गरिक मल उत्पादन, बासनादार धान र मकैका बीउबिजनका लागि झापामा पहिलोपल्ट अनुदानको बजेट पठाएको हो । बासनादार धानअन्तर्गत बासमती धानको उत्पादन पर्दछ ।

सरकारले झापामा व्यावसायिक च्याउखेतीका लागि रु १६ लाख १८ हजार, सिँचाइका लागि रु ५१ लाख ३७ हजार र व्यावसायिक तरकारीखेतीका लागि रु ४३ लाख अनुदानको बजेट पठाएको छ ।

च्याउ, सिँचाइ, तरकारीलगायतका शीर्षकमा आएका अनुदान लिन किसान आउने गरेको कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय झापामा आव २०७२÷७३ का लागि रु सात करोड १३ लाख बजेट आएको छ । कुल बजेटको लगभग एक तिहाइ बजेट अनुदानमा जाने गरेको छ ।

प्रतिक्रिया