ताराखोलामा बन्यो आलु चिस्यान केन्द्र

इनेप्लिज २०७२ मंसिर ४ गते ३:१४ मा प्रकाशित

potatoबलेवा (बागलुङ), ४ मङ्सिर । जिल्लाको तारा गाविसमा आलु भण्डारण केन्द्र निर्माण गरिएको छ । आलु उत्पादनको पकेट क्षेत्र मानिने ताराखोलामा बीउ प्रवद्र्धन र उपभोग्य आलुको सङ्कलन गर्न तारा–२ सानोहिलेमा भण्डारण केन्द्रको निर्माण गरिएको हो ।

ताराखोलाको सानोहिले तरकारी कृषक समूहको अगुवाइमा रु चार लाखको लागतमा भण्डारण केन्द्र निर्माण गरिएको अध्यक्ष कुलराज कँडेलले बताउनुभयो । कँडेलका अनुसार भवन निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ७५ हजार अनुदान दिएको छ । यस्तै रु ५० हजार बराबरको श्रमदान र बाँकी रु ७५ हजार ऋण खोजेर भवन बनाइएको हो ।

समुद्री सतहदेखि २२ सय मिटरको उचाइमा रहेको भण्डार गृहमा आलुको बीउ सङ्कलन गर्ने प्रमुख लक्ष्य लिइएको समूहले जनाएको छ । “स्थानीय जातको आलुको बीउको प्रवद्र्धनका लागि चिस्यान केन्द्रको निर्माण गरेका हौँ”, अध्यक्ष कँडेलले भन्नुभयो – “सबैको सक्रियतामा अहिले भवनमात्र बनाउन सकेका छौँ, भित्री संरचनाको काम बाँकी छ ।”

तत्काल आलु भण्डारणका लागि र्‍याक बनाउन जिल्ला कृषि विकास कार्यालले थप रु ५० हजार विनियोजन गरेको अध्यक्ष कँडेलले बताउनुभयो ।

भण्डार गृहमा आलु राख्दा कुहिने, चिसो लाग्नेजस्ता समस्या हटेर जाने कृषि सेवा केन्द्र हरिचौरका प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो ।

गत वर्ष डढुवा रोगले आलु उत्पादन घटेका कारण त्यसको रोकथामका लागि सुरुमै बीउलाई उपचार गरेर आलु रोप्ने तयारी गरिएको शर्माको भनाइ छ । यस अगाडि ताराखोलाकै जनएकता बहुउद्देश्यीय सहकारीले तारा–७ मपेसमा आलु भण्डारण केन्द्र निर्माण गरिसकेको छ ।

प्रतिक्रिया