मधेस आन्दोलन अलग राष्ट्रको पक्षमा नरहेको: नेता यादव

इनेप्लिज २०७२ मंसिर ४ गते २:५८ मा प्रकाशित

6cd2ddc39111f200a35fadca66513edeगौशाला, ४ मङ्सिर । सङ्घीय लोकतान्त्रिक मोर्चाका नेता एवम् मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलन अलग राष्ट्रका लागि नभएको बताउनुभएको छ ।

महोत्तरीको जलेश्वरमा पत्रकारसँगको कुराकानीमा नेता यादवले मोर्चा विखण्डनवादी नभएको तथा सच्चा राष्ट्रवादीको परिचय दिँदै देशको सार्वभौमसत्ता र अखण्डताभित्र रहेर स्वायत्त मधेस प्रदेशका लागि लडिरहेको प्रस्ट्याउनुभयो ।

उहाँले सरकार मधेसको आन्दोलनप्रति गम्भीर नरहेको बताउँदै मधेसी जनतालाई थकाउने गलाउने र आन्दोलन मत्थर पार्न खोजेको आरोप लगाउनुभयो ।

सोही क्रममा मोर्चाका अर्का घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले सरकारले नेपाली काँग्रेसको सहमति र सहकार्यबिना गर्न खोजेको वार्ताको कुनै अर्थ नहुने बताउनुभयो ।

उहाँले मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि दुई तिहाईको आवश्यकता पर्ने भएकाले सार्थक वार्ताका लागि सरकारले काँग्रेसलाई साथमा लिनुपर्दछ भन्नुभयो ।

प्रतिक्रिया