संविधानले बालअधिकारको सुनिश्चितता गरेको छ: उपप्रधानमन्त्री मैनाली

इनेप्लिज २०७२ मंसिर २ गते १४:१६ मा प्रकाशित

showimage.phpकाठमाडौँ, २ मङ्सिर । उपप्रधान मन्त्री तथा महिला,बालबालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले नेपाल बाल अधिकारप्रति अत्यन्त सम्वेदनशील रहेको भन्दै नेपालमा हालै जारी भएको ऐतिहासिक संविधानमा बालबालिकाको बालअधिकारलाई सुनिश्चित गरेको बताउनुभएको छ ।

बेलायत र संयुक्त अरब इमिरेट्सको संयुक्त तत्वावधानमा अबुधाबीमा आयोजना गरिएको ‘वी प्रोटेक्ट चिल्ड्रेन अनलाइन ग्लोबल समिट’ विषयक विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री मैनालीले बालबालिकाको हिंसा, दुव्र्यवहार र बेचबिखनजस्ता कार्यलाई सामाजिक अपराधका रुपमा स्थापित गरी यस्ता कार्यलाई क्षतिपूर्तिसहितको दण्डात्मक व्यवस्था गरेकाले नेपाल बालअधिकारप्रति अति संवेदनशील भएको पुष्टि भएको स्पष्ट पार्नुभयो ।

उहाँले समयको परिवर्तनसँगै बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहारको आयाममा परिवर्तन आएको चर्चा गर्दै मानवता विरोधी सामाजिक अपराधलाई निर्मूल गर्ने काममा सशक्त रुपमा लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री मैनालीले विद्युतीय माध्यमबाट बालबालिकामाथि गरिने यौन दुव्र्यवहार र शोषणको अन्त्य गर्न विश्व समुदाय, सरकार, निजी लगानीकर्ता तथा प्रविधिसँग सम्बद्ध कम्पनीको सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

बालबालिकालाई यौन शोषणबाट बचाइ उनीहरुको अधिकार संरक्षण गर्ने, अपराधीलाई कारबाही गर्ने गराउने र इन्टरनेटको माध्यमबाट हुने बालबालिकाको यौन शोषणबाट बचाउने विषयमा सम्मेलन केन्द्रित रहेको थियो ।

गत सोमबारदेखि सुरु भएको दुईदिने सम्मेलनमा विश्वका ५० मुलुकका सरकार तथा विभिन्न प्रविधिसँग सम्बद्ध कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया