कृषकका लागि राम्रो आम्दानीको स्रोत बनेको छ सुगन्ध कोकिला

इनेप्लिज २०७२ कार्तिक २९ गते ३:५१ मा प्रकाशित

तुलसीपुर (दाङ), २९ कात्तिक । विश्वमै लोपोन्मुख प्रजाति मालागेडी (सुगन्धकोकिला) खेती दाङको बिजौरी गाविस वडा नं ९ छिल्लीकोटका किसानका लागि भने राम्रो आम्दानीको स्रोत बनेको छ ।

स्थानीयवासी कृषक चन्द्र खड्काका अनुसार अहिले सो खेती त्यहाँ ५० घरपरिवारले व्यावसायिक रुपमा गर्दै आएका छन् ।

एक घरले एक वर्षमा थोरैमा पनि छदेखि आठ क्विन्टल मालागेडी बिक्री गर्ने गरेको र त्यसबाट रु ४० देखि ५० हजार आम्दानी लिन सफल भएको खड्काले बताउनु भयो ।

एउटा बिरुवाबाट दुई क्विन्टलभन्दा बढी मालागेडीको गेडा उत्पादन हुने गरेको र प्रतिक्विन्टल रु सात हजार ५०० का दरले बिक्री हुने गरेको पनि खड्काले जानकारी दिनुभयो ।

वर्र्षौंदेखि छिल्लीकोटमा मालागेडीको खेती भए पनि जिल्ला वन कार्यालय दाङले केही वर्षदेखि मालागेडीको व्यावसायिक खेती गर्ने उद्देश्यले निःशुल्क रुपमा बीउ उपलब्ध गराउन सुरु गरेपछि यो व्यवसाय फस्टाउँदै गएको र त्यसबाट राम्रो आम्दानी लिन सफल भएको बताइएको छ ।

मालागेडीको व्यावसायिक खेती गरेका त्यहाँका कृषकले अहिले आफ्नो उत्पादनलाई बिक्री गर्न एवम् ती बोटबिरुवाको संरक्षण गर्नका लागि स्थानीयवासी कृषक परवीर पुनको अध्यक्षतामा सुगन्ध कोकिला संरक्षण समिति पनि गठन गरेका छन् ।

अहिले त्यहाँ मालागेडीको बिरुवा उत्पादन गरेर नर्सरीको पनि व्यवस्था गरिएको छ ।

अग्लो र चिसो हावापानी रहेको छिल्लीकोट मालागेडी खेतीका लागि राम्रो ठाउँ मानिएको छ ।

त्यस ठाउँमा धानखेती नभए पनि मकै, जौ, बेसारलगायतका खेती गर्दै आएका किसानले पछिल्लो समयमा व्यावसायिक रुपमा मालागेडीको खेती गर्दै आएका छन् ।

मालागेडी खरिद गर्नेका लागि स्थानीय व्यापारी नै त्यहाँ जाने गरेको पुनले बताउनुभयो । उहाँका अनुसार त्यहाँ उत्पादन भएको मालागेडी केही दाङलगायत नेपालका विभिन्न जिल्लामा बीउका लागि किसानले पठाउँछन् भने व्यापारीले भने सोझै नेपाल बाहिर बिक्रीका लागि पठाउने गरेका छन् ।

प्रतिक्रिया