म्याग्दीको नाँगी गाउँमा पर्यटक बढ्यो

इनेप्लिज २०७२ कार्तिक २८ गते २:१७ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २८ कात्तिक । सूचना प्रविधिमा नमुना बनेको म्याग्दीको राम्चे गाविसको वडा नं १ र २ मा पर्ने नाँगी गाउँमा पर्यटकको चहलपहल बढेको छ ।

सन् २००८ मा ‘रोमन म्यागासेसे पुरस्कार’ जितेका महावीर पुनको जन्मगाउँ नाँगीमा सूचना प्रविधिको विकासका लागि उहाँबाट भएका गतिविधिबारे जानकारी लिन र प्राकृतिक सौन्दर्यमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत पर्ने नाँगी गाउँमा विश्वका विभिन्न देशका साथै राजधानी काठमाडौँ, पोखरा, चितवनलगायतका ठाउँबाट शिक्षक, विद्यार्थी र अनुसन्धानकर्ताको आगमन बढेको स्थानीय हिमाञ्चल उच्च माविका प्राचार्य रमन पुनले बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनीदेखि एक दिनको पैदलयात्रापछि पुगिने नाँगी गाउँमा अहिले मासिक एक हजारजनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विद्यालय र कलेजका शिक्षक र विद्यार्थीका लागि नाँगी शैक्षिक भ्रमणको आकर्षक गन्तव्य बनेको छ ।

ताररहित इन्टरनेटको सहयोगमा सञ्चालित कम्प्युटर कक्षा, टेलिमेडिसिन सेवा, इन्टरनेटले स्थानीयवासीको जीवनमा ल्याएको परिवर्तन, हिमशृङ्खलाको दृश्यावलोकन, नाँगीबाराही ताल, जडीबुटीको नर्सरी र नेपाली कागज उद्योग नाँगी गाउँका मुख्य आकर्षण हुन् ।

चिसो हावापानी पाइने नाँगीको सुन्दर मगर बस्ती, न्यानो आतिथ्यता, संस्कृति र जैविक खेती पर्यटकका लागि थप आकर्षण बनेको प्राचार्य पुनले बताउनुभयो ।

कम्प्युटर शिक्षा हासिल गरेका नाँगीका अधिकांश बासिन्दालाई आधुनिक सूचना प्रविधिको माध्यम इन्टरनेटबाट देश विदेशमा रहेका आफन्तसँग सञ्चार सम्पर्क गर्न र कृषि, घरेलु तथा पशुजन्य उत्पादनको पनि बजार खोज्न पनि सहज भएको छ ।

नाँगीमा परम्परागत शैलीका गोलघरहरु पनि छन् । गाउँमा भित्रने पाहुनालाई आवास सुविधाका लागि सामुदायिक विश्राम गृह सञ्चालन गरिएको छ । विश्राम गृहको आम्दानी गाउँको शिक्षा र स्वास्थ्यमा परिचालन गरिँदै आएको छ । गाउँमा आउने पाहुनालाई फूलमाला लगाएर स्वागत गरिन्छ ।

प्रविधिको पहुँच, मगर बस्ती र उनीहरुको संस्कार संस्कृति, शान्त वातावरण नाँगी गाउँको मुख्य विशेषता भएको स्विडेनका सातजना पर्यटकको साथमा हालै नाँगी पुगेकी पोखराका हिमालयन एड्भेन्चर गल्र्सकी पथप्रदर्शक सीता थापाले बताउनुभयो ।

दुर्गम ग्रामीण क्षेत्रमा पनि आधुनिक सूचना प्रविधिको सुविधासँगै न्यानो आतिथ्यता र मनोरम वातावरणमा रमाउन पाउँदा निकै रमाइलो भएको स्विडेनका पर्यटक एट्लसले नाँगी भ्रमणको अनुभव सुनाउनुभयो ।

पर्वतको बाँसखर्कबाट सुरु हुने अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग भएर नाँगी पुग्ने धेरैजसो विदेशी पर्यटक मोहरेडाँडाको भ्रमणमा जाने गर्छन् ।

आन्तरिक पर्यटकले भने बेनी–माझफाँट–लेकफाँट–फलामेडाँडाको मार्ग प्रयोग गर्छन् । नाँगी गाउँमा सडक सुविधा पनि पुगेकाले पर्यटकलाई सहज भएको छ ।

प्रतिक्रिया