सिस्नोको धुलो विदेश निर्यात

इनेप्लिज २०७२ कार्तिक २७ गते १०:५१ मा प्रकाशित

sisnu 1बेनी (म्याग्दी), २७ कात्तिक । ‘हातका मैला सुनका थैला के गर्नु धनले ।

साग र सिस्नो खाएको बेस आनन्दी मनले ।।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो पङ्क्ति व्यावहारिक रुपमा नै चरितार्थ भएको छ म्याग्दीका उद्यमीहरुका लागि । गरिबको खाना भनेर चिनिने सिस्नोको परिकार केही वर्षयता धनी मानिसले बसोबास गर्ने देश विदेश र सहर बजारमा लोकप्रिय बन्न थालेपछि म्याग्दीका उद्यमीले प्रशस्त आयआर्जन गर्न सफल भएका छन् ।

म्याग्दीका उद्यमीहरूले उत्पादन गरेको स्वास्थ्यवद्र्धक सिस्नोको पाउडर हाल काठमाडौँ, पोखराजस्ता ठूला सहरमा मात्र नभएर विदेशबाट समेत माग हुन थालेको छ । सिस्नो पाउडरको उपभोग गरेमा महिनावारी नियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेहजस्ता रोग निको हुने भएपछि सिस्नोको माग बढेको उद्यामीहरूको भनाइ छ ।

यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ । जिल्ला लघुउद्यमी सङ्घ, म्याग्दीका अनुसार गतवर्ष म्याग्दीमा एक हजार ३०० किलोग्राम पाउडर उत्पादन भई अन्यत्र बिक्री भएको थियो ।

साउनदेखि माघ महिनामा सिस्नोको मुना टिपेर पाउडर बनाउने उपयुक्त समय हो । बेनी, बागलुङ, कुश्मा, मुस्ताङ, पोखरा, काठमाडाँैलगायत स्थानबाट पाउडरको माग हुने गरेको घतान नेप्टेचौरकी उद्यमी अनिता खत्रीले बताउनुभयो ।
जिल्लाको बेनी, घोरेपानी र तातोपानीका होटल तथा लजहरूमा पनि पाउडरको माग बढिरहेको छ ।

सङ्गम, जिल्ला लघुउद्यमी सङ्घ, स्थानीय विकास कोषलगायत सङ्घसंस्थाको सहयोगमा विगत तीन वर्षदेखि म्याग्दीको घतान र दानामा सिस्नो प्रशोधन गरेर पाउडर उत्पादन हुने गरेको छ । एक किलोग्राम पाउडरको मूल्य न्यूनतम रु ३०० पर्छ ।

करेसाबासी, खेतबारीका कान्ला, खाली जमिनमा उम्रेको सिस्नोबाट पनि आम्दानी गर्न सकिने भएपछि महिला उत्साहित भएको दानाकी उद्यमी मैती तामाङले बताउनुभयो । ५० किलो ताजा सिस्नोको कलिलो भाग टिपेर सुकाई प्रशोधन गर्दा एक किलोग्राम पाउडर उत्पादन हुन्छ ।

प्रतिक्रिया