नाकाबन्दी नगर्न आग्रह

इनेप्लिज २०७२ कार्तिक २४ गते ९:१५ मा प्रकाशित

krishna-sitaulaविराटनगर, २४ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अघोषित नाकाबन्दीबाट नेपालीको जनजीवन अत्यन्त कष्टकर भएकाले नाकाबन्दी नगर्न भारतसँग आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुई देशबीच सदियौँदेखि विद्यमान सम्बन्धलाई थप बिग्रन नदिई नयाँ उचाइमा पु¥याउन सबै अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको संविधानमा नागरिकता वितरणको प्रावधानमा विगतको व्यवस्थाभन्दा अहिले बढी उदार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने र वैवाहिक अङ्गीकृतका साथै अङ्गीकृत नागरिकताका लागि सरल व्यवस्था गरिएको छ ।”

मधेसको समस्या संसद्बाटै समाधान हुने भएकाले मधेसीकेन्द्रित दलहरु संसद्मा आउनु सकारात्मक हो भन्दै महामन्त्री नेता सिटौलाले अघिल्लो सरकारको समयमा संविधान संशोधनका लागि दर्ता गरिएका दुईबुँदे संशोधन प्रस्ताव पारित गराउन पार्टी अग्रसर रहेको स्पष्ट पार्नुभयो ।

संविधान गतिशील दस्तावेज भएकाले संरचनागत विषयमा कसैको मतभिन्नता भएको अवस्थामा समयको उचित मागलाई सम्बोधन गर्न सकिने प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “लोकतन्त्र, विकास र राष्ट्रिय अक्षुण्णतामा कसैको विमति हुँदैन ।”

मधेसकेन्द्रित दलसँग गठित वार्ता टोलीमा नेपाली काँगेस टोलीको सदस्यमा किन नबसेको भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “सरकारी वार्ता टोलीमा सरकारमा सहभागी दलको प्रतिनिधि बस्ने गर्छन्, प्रतिपक्षी होइन ।” उहाँले भन्नुभयो, “काँग्रेसले प्रतिपक्षमा बसेर दिगो शान्ति, सुशासन, विकास र समृद्ध राष्ट्रको निर्माणमा सरकारलाई सहयोग र गलत काममा सरकारलाई खबरदारी गर्नेछ ।”

उहाँले काँग्रेस तेह्रौँ महाधिवेशनको तयारीमा जुटेको र यस कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया