घैंटेको शव ८० दिनसम्म किन उठेन, प्रहरी के गर्दैछ ?

इनेप्लिज २०७२ कार्तिक २१ गते १०:०२ मा प्रकाशित

11169247_674990235933798_8462877490175154495_n

०७ नोभेम्बर, २०१५

काठमाडौं । गत भदौ ३ गते राजधानीको सामाखुसीमा प्रहरीले गोली हानी हत्या गरेको स्थानीय कुमार श्रेष्ठ (कुमार घैंटे) को हत्या भएको करिब ८० दिन पुग्न लाग्दा समेत उनको दाहसंस्कार हुन सकेको छैन । घटनाको विषयमा सत्यतथ्य छानबिन गरी त्यसको विवरण सार्वजनिक नगरुञ्जेल परिवार तथा आफन्तले शव नबुझ्ने भन्दै अडान लिएपछि अहिलेसम्म शव शिक्षण अस्पतालको शवगृहमै छ ।

प्रहरीले घेरा हाली श्रेष्ठलाई हत्यागरी पछि इन्काउन्टरमा मारिएको भन्दै घटनाको विषयमा प्रहरीले झुठो मुचुल्का उठाएको भन्दै आक्रोशित स्थानीय वासिन्दा तथा श्रेष्ठका आफन्तले शव बुझ्न इन्कार गर्दै राष्ट्रिय मानव अधिकारलगायतका निकायहरु गुहारी रहेका छन् । सो घटनामा इन्काउन्टरमा श्रेष्ठ मारिएको भनिएपनि करिब १ मिटर नजिकबाट मात्रै श्रेष्ठमाथि गोली प्रहार भएको र प्रहार गरिएका अधिकांश गोलीहरु (करिव २ दर्जनजति) ढाडबाट प्रहार गरिएको तथा १ गोलीमात्रै छातिबाट लागेकोले सो घटना इन्काउन्टर नभै घेरा हालेर नै हत्या गरिएको स्पष्ट हुने भन्दै श्रेष्ठका परिवार तथा
आफन्त आन्दोलित भएको हो ।

अहिले घटनाको विषयमा छानबिन गर्न व्यालेस्टिक अफिसरसहितको कमिटी गठन गर्ने निर्णय समेत भै सकेको छ । सो टोलीमा मानव अधिकार आयोगका विज्ञ र अस्पतालका विशेषज्ञहरु सहभागि हुने भएका छन् । घटनाको सत्यतथ्य छानबिन
गरेपछिमात्रै शव बुझ्ने अडानमा श्रेष्ठका परिवार तथा आफन्त रहेका कारण सो घटना भएको करिब ८० दिनसम्म पनि श्रेष्ठको शव उठ्न तथा अन्त्यष्टि हुन सकेको छैन ।

नक्कली श्रीमती बनाउने प्रपञ्च यसैबीच, श्रेष्ठको हत्या भएपछि अहिले प्रहरीले श्रेष्ठको नक्कली श्रीमती
खडा गरी सम्पत्तिमाथि हकदावी गर्ने खेल खेल्न लागेको भन्दै श्रेष्ठका आफन्तहरु आक्रोशित भएका छन् । कुमारका माइला बाबुका छोरा राजु श्रेष्ठ कुमारको हत्यापछि सबैभन्दा नजिकको आफन्तको रुपमा देखिएपनि उनलाई वेवास्ता गर्दै नक्कली श्रीमतीका रुपमा एक महिलालाई खडा गराउने प्रयासमा प्रहरी लागेको आरोप स्थानीय वासिन्दाको छ । प्रहरीको क्राईम डिभिजनले स्थानीय स्तरमा गएर आफूखुसी ढंगले कमिटी गठन गर्ने गरेको भन्दै स्थानीय वासिन्दा
थप आक्रोशित बनेका छन् ।

श्रीमान् श्रीमतीको नाता प्रमाणित हुनका लागि विवाह दर्तादेखि अन्य कागजातलाई पनि आधार बनाइने प्रचलन रहेपनि यी सबै बैध कागज बिना नै नक्कली महिलालाई श्रीमतीको रुपमा खडा गर्ने र सम्पत्ति दाबी गर्न लगाउने खेलमा
प्रहरीका उच्च तहका केही अधिकारी नै संलग्न रहेको आरोप स्थानीयको छ । यी सव घटनालाई हेर्दा प्रहरीले आफ्नो कार्यक्षेत्रलाई मिच्ने, विधिको शासन तथा कानुनी राज्यको खिलापमा काम गर्ने तथा तथा सरकारदेखि कानुनसम्म आफ्नै
हातमा लिने हर्कत गरेको गुनासो स्थानीयको छ ।

यो विषयमा ध्यानाकर्षण गराउँदै मृतक श्रेष्ठका माइला दाजुका छोरा राजुले गृहमन्त्रालयमा पुगेर गृहमन्त्रीलाई समेत निवेदन पत्र बुझाईसक्नुभएको छ । कपोलकल्पित ढंगले नक्कली श्रीमती बनाएर दाहासंस्कार गराउन लगाउने र उनलाई सम्पत्ति दिलाउने कोशिषमा प्रहरी प्रशासन लागेको भन्दै यसलाई रोक्न मागसहित गृहमन्त्रालयमा उजुरी निवेदन परिसकेको सन्दर्भमा यो घटना थप रहस्यमय बन्दै गएको छ । त्यसो त प्रहरीको काम समाजमा अमनचयन र जनताको
शान्ति सुरक्षा गर्नु नै हो ।

तर प्रहरीले जनताको सुरक्षा दिनुको साटो घेरा हालेर हत्या गर्ने अनि इन्काउन्टर भनेर प्रचारबाजी गर्ने, जर्वजस्ती विवाह भएको प्रमाणित गर्न लगाउने जस्ता प्रहरीलाई कत्तिपनि नसुहाउने यतिबेला क्राइम डिभिजनले गरेको गुनासो श्रेष्ठका आफन्त तथा छिमेकीहरुको छ । यी सबै घटनामा प्रहरीले आफ्नो हैसियत र कानुनी दायित्व विर्सेर काम गरेको भन्दै पीडितका आफन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्रहरीका केही हाकिमका विरुद्ध उजुरी दिइसकेका छन् । कहिँ कतैबाट सहयोग र साथ नपाएपछि पीडितका आफन्त तथा परिवारका सदस्य अब सम्मानित सर्वोच्च अदालत जाने तयारीमा छन् । उनीहरुले
किटानी जाहेरीका साथ विगतदेखि अहिलेसम्मका सबै घटनाक्रमलाई लिएर अदालतमा उजुरी गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

केही दिन अघि यही विषयमा केन्द्रीत रहेर महानगरीय प्रहरी वृत्त लैनचौरले काठमाडौं महानगरपालिका कार्यलय, २९ वडालाई पत्राचार गरी अहिले कृतिम रुपमा खडा गरिएकी पिंकी शेर्पा नामकी महिलाको विषयमा स्थानीय स्तरमा मुचुल्का गरी हो होइन स्पष्ट जवाफ पठाउन भन्दै कात्तिक १६ गतेको मितिमिा पत्राचार गरेको छ ।

गुण्डाहरु प्रहरीको कमाउने माध्यम यता कुमार घैंटेको हत्या भएपछि हायलकायल भएका राजधानीका गुण्डाहरुलाई
कुमार घैंटे र दिनेश अधिकारीकै जस्तो अवस्था बनाईदिने भन्दै धम्काउँदै उनीहरुसँगबाट मोटो रकम लिई जर्वजस्ती रुपमा आत्मसमर्पण गराउन लगाउने र उनीहरुलाई सुरक्षा दिने खेलमा प्रहरी लागेको चर्चा पनि यतिबेला चल्न थालेको छ । दशैंको केहीदिन अघि गुण्डा नाईके गणेश लामासँग पनि प्रहरीको उच्च तहका केही व्यक्तिले मोटो रकम लिएर उसलाई पक्राउ गरेको बहाना गर्दै सुरक्षा प्रदान गरेको बताइन्छ ।

सञ्चारमाध्यमबाट प्रहरीका केही हाकिमहरुले आफ्नो बहादुरी देखाउने कोशिष गरेको तथा नेताको हैसियत दाँज्ने काम गरेको भन्दै प्रहरीका यी गतिविधि आफ्नो कार्यक्षेत्र भन्दा विल्कुल बाहिरको गतिविधि भएको गुनासो पनि यतिबेला सर्वत्र सुनिन थालेको छ । काठमाडौंका विभिन्न गुण्डा समूहहरुलाई पैसाको बार्गेनिङ्ग गरेर सहज रुपमा गिरफ्तारी गर्ने, आम सर्वसाधारणमा
गुण्डालाई नियन्त्रणमा लिइयो भन्ने सन्देश दिने तथा वास्तवमा ती गुण्डा नाईकेहरुबाट मोटो रकम लिएर प्रहरीले आचारण विपरितका काम गरिरहेको हुनाले यो तत्काल रोकिनुपर्ने माग सर्वसाधारणको छ ।

यी सबै घटनालाई हेर्दा गुण्डालाई पक्राउ गर्नु भनेको प्रहरीले गुण्डालाई कमाउने साधन बनाउने कोशिष कोशिष गरिरहेको छ । यी सबै गतिविधि तत्काल रोकेर श्रेष्ठको हत्यामा संलग्न तथा घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग सहित २ हजार जना स्थानीय जनताको हस्ताक्षरसहितको निवेदन केही दिन अघि मात्रै राष्ट्रिय मानव अधिकार आयोगमा बुझाइएको छ । घटनाको सत्यतथ्य छानबिन गरी सम्मानित सर्वोच्च अदालत र मानवअधिकार आयोगबाट पीडित पक्षलाई न्याय प्रदान हुने अपेक्षा पनि स्थानीयको छ ।

प्रतिक्रिया