डेङ्गु परीक्षण प्रभावित

इनेप्लिज २०७२ कार्तिक २१ गते ३:५८ मा प्रकाशित

dengue-fever-signs-precautionरत्ननगर (चितवन), २१ कात्तिक । चितवमा डेङ्गु परीक्षणमा प्रयोग हुने किट अभावका कारण अहिले डेङ्गु परीक्षण प्रभावित भएको छ ।

केन्द्रमा किटको माग गरिएको भए पनि अहिलेसम्म नआइपुगेको जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

“केही दिनमा आउँछ भनेको छ, त्यसपछि परीक्षण होला, नत्र अहिले किट नभएर परीक्षण प्रभावित छ,” उहाँले भन्नुभयो ।

गएको वैशाखदेखि साउनसम्म डेङ्गुका बिरामी नगग्य रहे पनि साउनदेखि अहिलेसम्म बिरामीको सङ्ख्या बढेको छ । यो समयमा परीक्षण प्रभावकारी हुनुपर्नेमा किट नहुँदा झन परीक्षण प्रभावित हुन पुगेको छ ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनदेखि असोजसम्म तीन महिनामा २६ जनामा डेङ्गु रोग लागेको भेटिएको छ । कुल ४५३ जना ज्वरोका बिरामीको परीक्षणमा २६ जनामा डेङ्गु पुष्टि भएको हो ।

चाडबाडको बेलामा डेङ्गु देखिएपछि सङ्क्रमण फैलन नदिन जनस्वास्थ्य कार्यालय चितवनले स्वयम्सेविका परिचालन गरेर भोलिदेखि डेङ्गु लगाउने लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ ।

बाइस देखि २४ सम्म घरघरमा पुगेर तीनदिने अभियान चलाइने छ । एडिस एजेप्टाइ नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया