मलेसियामा इलामे युवकको मृत्यु

इनेप्लिज २०७२ कार्तिक २० गते ६:२१ मा प्रकाशित

इलाम, २० कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामे युवकको मृत्यु भएको छ ।

रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको मृत्यु भएको हो । छ दिनअघि मृत्यु भए पनि परिवारले भने बिहीबार मात्रै उनको मृत्युको खबर सुनेका थिए ।

मलेसियामा अवैध रूपमा बस्दै आएका राईलाई छ महिनाअघि मलेसिया प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो । राईको जेलमै मृत्यु भएको उनकी दिदी रञ्जना राईले जानकारी दिनुभयो ।

उनी जेल परेको लामो समयपछि मात्र उनले परिवारमा सम्पर्क गरेका थिए । उनलाई जेलबाट उकासेर स्वदेश फर्काउनका लागि परिवारले लाग्ने खर्चसमेत जुटाइसकेको अवस्थामा उनको मृत्यु भएको दिदी रञ्जनाले बताउनुभयो ।

राईको शव स्वदेश ल्याउन पहल गरिदिन नेपाली दूतावाससँग मृतकका परिवारले अनुरोध गरेका छन् ।

प्रतिक्रिया