पाँच दिनसम्म ग्यासको लाइनमा, बढी भाडा लिनेलाई मुद्दा

इनेप्लिज २०७२ कार्तिक १९ गते १२:३१ मा प्रकाशित

Gass-Nepaliरत्ननगर (चितवन), १९ कात्तिक । भरतपुर–१२ विजयचोककी अम्बिका पोखरेलको घरमा विगत दुई महिनादेखि ग्यास सकियो । ग्यासको खोजीमा उहाँ दौडिएको पनि दुई महिना भइसक्यो । तर कहीँकतै ग्यास पाउन सक्नुभएन ।

चितवनको जिल्ला प्रशासन कार्यालय अगाडि रहेको एउटा डिलरमा ग्यास दिन्छ रे भनेर हल्ला सुन्नुभयो । अनि एकाएक घरमा भएका दुईवटा सिलिण्डर बोकेर उहाँ आउनुभयो । “आज पाँच दिनभयो, ग्यास सिलिण्डर ल्याएर राखेको”– पोखरेलले भन्नुभयो, “दिने/नदिने थाहा छैन, तर पनि सबैले रित्तो सिलिण्डर ल्याएको देखें, पाइहाल्छ की भनेर मैले पनि ल्याएँ ।”

करिब ३०० रित्ता सिलिण्डर पछाडि उहाँको पालो छ । श्रीमानका साथ पालैपालो उहाँ ग्यासको लाइन बस्दै आउनुभएको छ । हरेकदिन जसो ग्यास पाइन्छ की भन्ने आशामा लाइनमा बसेपनि ग्यास नपाएको उहाँको गुनासो छ । “सडकमै बास छ, राति पनि यहाँ सुतियो तर ग्यास कहिले बाँड्छ, थाहा छैन”–अम्बिकाले भन्नुभयो ।

उहाँजस्तै टीकाराम सुवेदी पनि लाइनमै हुनुहुन्छ । हल्लैहल्लामा उहाँले पनि ग्यास सिलिण्डर ल्याएर लाइनमा राख्नुभएको छ । रातभर सडकमै जाग्राम बसेर कुरेको उहाँको भनाइ छ ।

रातिको अनिँदो बनेका उपभोक्ता दिउँसो मस्तले सुतेका देखिए । ओढ्ने÷ओछ्याउनेसमेत ल्याएर बसेका छन् । “प्रशासनले कहिले ग्यास दिन्छ÷दिँदैन भनेर सही सूचना सार्वजनिक गर्नुप¥यो, यसरी जनतालाई दुःख दिन भएन नी !’ अर्का उपभोक्ता सुर्जा भुषालले भन्नुभयो । न निद्रा, न भोक, त्यसका साटो धुलो र धुवाँ खाएर बस्नुपरेको उहाँको अनुभव छ ।

गएको शनिबार प्रशासन चोकमा ग्यास वितरण गरिएको थियो । त्यसदिनदेखि लागेको लाइन अहिलेसम्म हटेको छैन । बिचबिचमा प्रहरीले ग्याँस दिँदैन भनेर हटाउँछ, केही बेर उपभोक्ता भाग्छन्, फेरि लाइनमा आईपुग्छन् ।

“अस्ति पनि ग्यास दिँदैन भनेर भगाएपछि बाँडेछ, त्यसैले अहिले त लाइन छाडेको छैन”–उपभोक्ता हिरा शर्माले भन्नुभयो ।

डरत्रासमा पार्ने र बढी भाडा लिनेविरुद्ध मुद्दा

यसैबीच, बजारमा पेट्रोलियम पदार्थको अभाव भइरहेको मौका छोपी तोकिएको दरभन्दा बढी भाडा असुल गर्ने तथा यात्रुलाई त्रासमा पार्ने छ जना कारबाहीमा परेका छन् ।

उनीहरुविरुद्ध बुधबार मुद्दा दर्ता गरिएको छ । यस्तै, ६ वटा सवारीसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुरका वर्ष २२ का साजन थापामगर, रुपन्देहीका ३५ वर्षीय हरि रावल, चितवन भण्डाराका ४२ वर्षीय हेमकुमार गौतम, नवलपरासी वर्दघाटका ३० वर्षका भुवन पौडेल र स्याङ्जा छाङ्छाङ्दीका ३० वर्षीय पारस रेग्मी छन् ।

उनीहरुले बलजफ्ती यात्रीलाई तानी गाडीमा चढाउने, बढी भाडा नतिरेमा अपमानजनक व्यवहार गरी गाडीबाटै झारिदिने तथा यात्रीलाई डरत्रासमा पार्ने जस्ता कार्य गरेको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

निजहरुलाई पक्राउ गरी केही सार्वजनिक (अपराध र सजाय) ऐनअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमति लिई प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया