सौर्य ऊर्जाले गाउँ झिलीमिली

इनेप्लिज २०७२ कार्तिक १९ गते २:११ मा प्रकाशित

Rss_Images_1444298632901_PP-Gorkha-Solarधनगढी, १९ कात्तिक । कैलालीको दक्षिण सीमावर्ती रतनपुर, घुइयाफाट गाउँ अहिले सौर्य ऊर्जा (सोलार पावर)ले झिलीमिली भएको छ ।

विद्युत्को विकल्पमा घर घरमा सौर्य ऊर्जा जडान गरिएपछि गाउँ झिलीमिली भएको हो ।

स्थानीय फुलराज चौधरीले भन्नुभयो, “सौर्य ऊर्जा जडानपछि अब अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको छ भन्ने मोबाइल चार्ज गर्नसमेत भ्याउँदा केही राहत भएको छ ।”

बिजुली बत्ती नहुँदा मट्टीतेलबाट बल्ने टुकीको उज्यालोमा बस्दै आएका स्थानीयवासीले मट्टीतेल पनि महँगो हुन थालेपछि जेनतेन रकमको जोहो गर्दै सौर्य ऊर्जा जडान गरेका हुन् ।

करिब ३७५ घरपरिवार रहेको घुइयाफाटका सबै घरमा यतिबेला सौर्य ऊर्जा जडान भइसकेको सौर्य ऊर्जाको व्यापार गर्दै आएका स्थानीयवासी चन्द्र चौधरीले बताउनुभयो । २०÷३० वाट क्षमताको सौर्य ऊर्जाले तीन÷चारवटा चिमसम्म बल्ने गरेको गाउँलेले बताएका छन् ।

नजिकैको रामपुर गाउँमा बिजुली बत्ती पुगेको छ तापनि सो गाउँका कतिपयले पनि सौर्य ऊर्जा नै प्रयोग गर्न थालेका छन् ।

बिजुली भएर के गर्नु, पावर नै पुग्दैन, स्थानीयवासी अविनास चौधरीले भन्नुभयो – “विद्युत् भोल्टेज नपुग्दा बत्ती मधुरो बल्ने गरेकाले सौर्य ऊर्जातिर आकर्षण बढेको छ ।”

चौधरी समुदायको बसोबास रहेको यो गाउँमा अझै पनि राम्रो बाटो, खानेपानीलगायतका आधारभूत सुविधा पुग्न नसकेको चौधरीले बताउनुभयो ।

प्रतिक्रिया