नेपालीहरुलाई रोमानिया आउने बाटो महाकबि लक्ष्मीप्रसाद देवकोटाले देखाए

इनेप्लिज २०७२ कार्तिक १८ गते १९:१२ मा प्रकाशित

नेपालमा सात सालको जनक्रान्तिको विजय पश्चात् उन्मुक्त वातावरणमा सूर्यबहादुर एम.ए.को नेतृत्वमा १०–सदस्यीय नेपाली प्रतिनिधि मण्डलले त्यतिखेर समाजवादी व्यवस्थामा बामे सरिरहेको रोमानियामा आयोजित चतुर्थ विश्व युवा महोत्सवमा भाग लिने सुअवसर पाएको थियो। सर्वप्रथम बुखारेष्ट पुग्ने नेपालीहरुमध्ये हाम्रा विख्यात कवित्रय लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ तथा बालकृष्ण सम थिए। सन् १९५३ मा रोमानियाबाट नेपाली प्रतिनिधिमण्डल चेकोस्लोभाकिया हुँदै तत्कालीन सोभियत संघको राजधानी मस्को पुगेको थियो।

यसै गरि सन १९८५ मा अन्तर्राष्ट्रिय युवा बर्षको अवसरमा रोमानियाले आयोजना गरेको विश्व युवा महोत्सवमा भाग लिन नेपालका तर्फबाट अन्तर्राष्ट्रिय युवा बर्ष राष्ट्रिय समितिका तत्कालिन सदस्य सचिब कमल थापाको नेतृत्वमा एक नेपाली युवा टोलीले रोमानियाको भ्रमण गरेको थियो ।

हाल नेपालका बिभिन्न अस्पतालहरूमा कार्यरत चिकित्सकहरू मध्येका डा. ईश्वर श्रेष्ठ, डा. शैलेश कुमार भगत,  डा. अमित रिजाल, नवराज पोखरेल,सरला खड्गी, आङकर्मा शेर्पा, ईन्जिनियर तुमुल जंग बहादुर सिंह, श्रीकृष्ण पुरी, आलोक साह, खुमलाल भुसाल, माया लोप्चन, खगेन्द्र अधिकारी तथा अन्य धेरैको नाम रोमानियाका बिभिन्न विश्व विद्यालयहरु र ब्यापारिक क्षेत्रहरूमा जोडिएका छन।

सन् २००७ सालमा यूरोपियन यूनियनको सदस्यता प्राप्त गरेको रोमानियामा अध्ययन, रोजगार तथा ब्यापारको  लागि आउने नेपालीहरूको संख्या दिन प्रति दिन बढी रहेको छ। सन् १९८५ देखि रोमानियामा नेपालीहरूको आगवन शुरू भएता पनि हाल रोमानियामा करिब ७०/८० जना नेपालीहरूको बसोबास छ। यसै सिलसिलामा सन् २०१०-११ मा करिब २०० जना नेपालीहरूले रोमानिया प्रबेश गरेका थिए। नेपाली दलालहरूको ठगीमा परि बिचल्लीमा परेका करिब ८० जना नेपाली कामदारहरूलाई रोमानियाबाट सकुशल नेपाल फर्काउन मस्को स्थित नेपाली राजदूताबास र गैर आबासीय नेपाली संघ, रोमानियाको सहयोग सह्रानिय छ । रोमानियाका बिभिन्न शहरहरूमा अध्ययन र कामको खोजीमा आउनु भएका नेपालीहरू समेटी सन् २००९ सालमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको स्थापना भएको थियो ।

रोमानियाका विभिन्न क्षेत्रमा कार्यरत सबै नेपालीले आफ्नो देशको ईज्जत राखी आफूलाई नेपालीको पहिचान गौरबकासाथ दिदै आएका छन। रोमानियामा नेपाली कामदारहरूले पाउने सर सुबिधाका बारेमा छोटकरीमा उनीहरु संगै छलफल गर्दा सबै सुविधाहरूबाट सन्तुष्ट छन । नेपाली कामदारहरू रोमानिया आएका खण्डमा उनीहरूले यहाको श्रम मन्त्रालय अन्तर्गतका नियमानुसार सबै सुविधाहरू प्राप्त गर्ने छन्। यी सुबिधाहरूमा– रोमानियाली सरकारी बिदाहरूका साथै बर्षको ९ दिन नेपालमा हुने सरकारी बिदा र चाड पर्बमा छुट्टी पाउने;  सबै प्रकारका ईन्सुरेन्स सुविधाहरू प्राप्त हुने;  ओभर टाईमको ब्यबस्था हुने; एक दिनमा ८ घण्टा काम गर्नु पर्ने; हप्तामा एक दिन छुट्टी पाउने; न्यूनतम मासिक तलब ४५० युएस डलरदेखि ६५० युएस डलरसम्म सम्म नेट रहने, खाना बस्नको नि:शुल्क ब्यबस्था हुने आदि छन् । यसका साथै  कामदारहरूलाई २ बर्षे करारनामा  दिइने र राम्रो काम गर्नेहरूलाई अझै म्याद थपिईने ब्यबस्था पनि रहेको छ। जस अनुसार यहाँ काम गरिरहेका केहि नेपालीहरूको करारनामाको म्याद थप गरिको छ।\

प्रतिक्रिया